राष्ट्रिय सभाको बैठक आजबाट सुरु, संसद विघटनबारे बोल्न नपाइने

राष्ट्रिय सभाको बैठक आजबाट सुरु, संसद विघटनबारे बोल्न नपाइने

काठमाडौं । शुक्रबारदेखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा विघटित भइसकेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेपछि राष्ट्रिय सभाको बैठक शुक्रबार दिउँसो ४ बजे बस्न लागेको हो ।

शुक्रबारको बैठकको सुरुवातमै राष्ट्रिय सभामा रहेका दलका नेताहरुले सम्बोधन गर्नेछन् । राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको आज बिहिबार बसेको बैठकले भोलिको लागि कार्यसूची तयार गरेको हो ।

उक्त कार्यसूचीअनुसार अघिल्लो अधिवेशनपछि हालसम्म निधन भएका सांसदहरु तथा पूर्वसांसदहरुप्रति श्रद्धाञ्जलीसहित शोक प्रस्ताव पारित हुनेछ । त्यस्तै अधिवेशन आह्वानका लागि राष्ट्रपतिले बठाएको पत्रपनि कार्यसूचीमा परेको छ ।

बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायतमा पनि छलफल हुनेछन् । त्यसपछि, थारु आयोग, मधेशी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वसम्बन्धी संवैधानिक आयोगका प्रतिवेदनहरूमाथि छलफल हुनेछ ।

तर, राष्ट्रिय सभाको भोलिको बैठकमा संसद विघटनको विषयमा भने छलफल हुनेछैन । सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा सदनमा छलफल हुन नसक्ने भएकाले यो विषयमा छलफल नहुने भएको हो ।