मन्त्री फेर्न सघन छलफल : यी हुन् ओली र प्रचण्डबीच कुरा मिल्न बाँकी विषय !

मन्त्री फेर्न सघन छलफल : यी हुन् ओली र प्रचण्डबीच कुरा मिल्न बाँकी विषय !

काठमाडौं । पार्टीको आन्तरिक विवाद मिलाउने प्याकेजभित्र मन्त्रिपरिषद् पुनर्गठन पनि परेपछि प्रधानमन्त्री एव नेकपा अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरू हेरेफेर गर्न अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको छलफल सघन बनाएका छन् । ओली र दाहालबीच दिनहुँजसो बैठक भइरहेको छ ।

आइतबार पनि ओली र दाहालबीच तीन घण्टा बालुवाटारमा छलफल भयो । निष्कर्ष भने निस्केन ।

प्रधानमन्त्री ओलीले आइतबार दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका थिए । उनले त्यसअघि दाहालसँग छलफल गरेका थिए । निष्कर्षमा नपुगेपछि मन्त्रिपरिषद् बैठक नियमित एजेन्डामा मात्र केन्द्रित भयो ।

नेकपा महासचिव विष्णु पौडेलले सचिवालय बैठकले मन्त्रिपरिषद् र पार्टी एकताका बाँकी कामलगायतका विषयमा छिटो टुंग्याउने निर्णय गरेकाले त्यहीअनुसार काम भइरहेको बताए । तर मन्त्रिपरिषद्लगायतका विषयमा अध्यक्षद्वयले ढाँचा तय गर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीको राजीनामाको माग उठेपछि पार्टीभित्र चर्केको विवाद मिलाउने क्रममा मन्त्रिपरिषद् हेरफेर गर्नेसम्मको निर्णय पार्टीले गरेको थियो ।

चिवालय बैठकमा मन्त्रिपरिषद् हेरफेरका लागि सबै मन्त्रीलाई बिदा गरेर नयाँ ल्याउने, राम्रा काम गरेकालाई राखेर अरूलाई हटाउने, सुरुमा नियुक्त भएका सबैलाई हटाएर नयाँ ल्याउनेलगायतका विकल्प प्रस्ताव गरिएका थिए । प्रधानमन्त्री ओली सेट नै फेर्न नहुने पक्षमा छन् ।

त्यसैले कसलाई राख्ने र कसलाई हटाउने भन्नेमा निष्कर्षमा पुग्न गाह्रो भएको छ । राज्यमन्त्रीहरू नराखेर मन्त्रालय फुटाई मन्त्रीहरू थप्ने विकल्प पनि बालुवाटारभित्र छलफलका क्रममा छ । तर मन्त्रालय फुटाउँदा प्रशासनिक व्ययभार बढ्ने र त्यसका कारण सरकारले थप आलोचना खेप्नुपर्ने हुन सक्ने विश्लेषण पनि भइरहेको छ ।

मन्त्रीकै आकांक्षा राखेर राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत सांसद उपाध्यक्ष वामदेव गौतमबारे पनि अहिले छलफलमा आएको छ । गौतम मन्त्री बन्न नपाउने दाबी गर्दै सर्वोच्चमा रिट परेको छ ।

उक्त रिटमाथिको सुनुवाइ आउँदो १४ गते हुँदै छ । चुनाव हारेकै व्यक्तिलाई अहिले नै मन्त्री बनाउन नहुने दबाब ओली पक्षबाट पनि आइरहेको छ । बाहिरबाट पनि आलोचना भइरहेकाले तत्कालै गौतम र अर्का नेता नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाइहाल्न नहुने पक्षमा उनीहरू छन् ।

गौतम र श्रेष्ठ चिढिँदा पार्टीभित्र भर्खरै मिलेको शक्ति सन्तुलन बिग्रने भय पनि छ । त्यसैले तत्कालै मन्त्रिपरिषद् हेरफेर गर्ने कि गौतमको मुद्दा निर्क्योल भएपछि टुंग्याउने भन्नेमा पनि ओली र दाहालबीच आइतबार ठोस निष्कर्ष निस्केन । कान्तिपुर दैनिकमा खबर छ ।