उपकुलपति नियुक्तिमा ओली-प्रचण्ड भागबण्डा, एक कोटा कांग्रेसको भागमा !

उपकुलपति नियुक्तिमा ओली-प्रचण्ड भागबण्डा, एक कोटा कांग्रेसको भागमा !

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालय दाङ र कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनमा आइतबार उपकुलपति नियुक्त गरेका छन् । संस्कृतमा यादव लामिछाने र कृषिमा पुण्य रेग्मी नियुक्त भएका हुन् ।

लामिछाने प्रधानमन्त्री ओली र रेग्मी नेकपा अध्यक्ष पुष्पकमल दाहालनिकट मानिन्छन् । स्रोतका अनुसार ओली र दाहालबीच संस्कृतमा पूर्वएमाले, कृषिमा पूर्वमाओवादी र पोखरा विश्वविद्यालयमा प्रतिपक्षी कांग्रेस कोटामा उपकुलपति नियुक्ति गर्ने सहमति थियो ।

दुई उपकुलपतिले प्रधानमन्त्री कार्यालयबाट नियुक्ति पत्र बुझेका छन् । पोखरामा भने कांग्रेस कोटामा प्रेमनारायण अर्याल उपकुलपति बन्ने चर्चा छ । तर सिफारिस सूचीमा उनको नाम परेको छैन ।

विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न सहकुलपति एवं शिक्षामन्त्रीको संयोजकत्वमा रहने सिफारिस समिति पठाउने ३ जनाको नामबाट एक जनालाई प्रधानमन्त्रीले नियुक्ति दिने प्रावधान छ ।

समितिले कृषिमा रेग्मी, शारदा थपलिया र श्रवण साहको नाम सिफारिस गरेको थियो । दाहाल रेग्मी र प्रधानमन्त्री ओली थपलियालाई उपकुलपति बनाउने अडानमा थिए । सहमति नहुँदा नियुक्तिमा ढिलाइ भएको हो ।

संस्कृतमा लामिछाने, रमेश ढकाल र भागवत नेपाल सिफारिसमा परेका थिए । प्रधानमन्त्री ओली लामिछानेलाई पोखराको उपकुलपति बनाएर कांग्रेसलाई संस्कृत विश्वविद्यालयको उपकुलपति दिने पक्षमा थिए ।

समितिले लामिछानेको नाम संस्कृतमा सिफारिस नगरेपछि कांग्रेस कोटामा पोखरा विश्वविद्यालय परेको हो । कान्तिपुर दैनिकमा खबर छ ।