सीपीएलमा चम्किएका सन्दीप, समूह चरणमा खेलैपिच्छे विकेट

सीपीएलमा चम्किएका सन्दीप, समूह चरणमा खेलैपिच्छे विकेट

काठमाडौं । ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् ।

जमैका तलावाजबाट खेल्दै आएका सन्दीपले समूह चरणका सबै खेलमा खेलैपिच्छे विकेट लिन भएका हुन् ।

सीपीएलको समूह चरणको सबै खेलहरू आइतबार राति सम्पन्न भएको छ । सीपीएलमा सहभागी ६ वटै टोली प्रत्येकले दश–दश वटा खेल खेलेका थिए ।

सेन्ट किटस् विरुद्धको आठौँ खेल वर्षाका कारण रद्द भयो । उक्त खेलमा सन्दीपले बलिङ गर्न पाएनन् । बाँकी नौ वटा खेलमा भने उनले खेलैपिच्छे विकेट लिए ।

सन्दीपको बलमा विपक्षी खेलाडीहरूले खुलेर रन बनाउन सकेनन् । उनले प्रत्येक खेलमा निकै किफायती बलिङ गरे । सन्दीपले समूह चरणका खेल सम्पन्न हुँदासम्म नौ खेलमा १२ विकेट लिए ।

जमैकाले समूह चरणमा स्तरीय खेल प्रदर्शन गर्न नसके पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल देखाए ।

जमैका समूह चरणका १० खेलमध्ये तीनमा जीत तथा ६ वटामा हारका साथ ७ अङ्क बटुल्दै अङ्क तालिकाको चौथो स्थानमा खुम्चियो । यद्यपि सन्दीपले भने जमैकाका लागि कसिलो बलिङ गरे ।

सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा एक विकेट लिएका थिए ।

सन्दीप र अफगानिस्तानका युवा खेलाडी मुजिबउर रहमानले जसरी जमैकालाई बलिङमा साथ दिँदै आएका छन् त्यसैगरी ब्याटिङ लाइन बलियो भएमा जमैकाले सेमिफाइनलमा जित्न सक्ने अनुमान गरिएको छ ।  

यस यामको सीपीएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।

उनले यसअघि दुईपटक सीपीएल खेलिसकेका छन् । पहिलो पटक सन् २०१८ मा उनलाई सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले ५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।

दोस्रो पटक बार्बाडोस ट्रिडेन्टसले सन् २०१९ मा सन्दीपलाई ७० हजार डलरमा अनुबन्ध गरेको थियो ।

सीपीएल सकिएपछि सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न युनाइटेड अरब इमिरेटस् (युएइए) जानुहुनेछ ।

यस यामको आईपीएल कोरोना महामारीका कारण भारतमा आयोजना नभएर युएईमा हुँदैछ ।

सन्दीपले आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्नेछन् । उनी दिल्ली क्यापिटल्समा रु ३२ लाखमा अनुबन्धित भएका हुन् ।