युवराज खतिवडा पुन: 'अर्थमन्त्री' ?

युवराज खतिवडा पुन: 'अर्थमन्त्री' ?

काठमाडौं । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आफूले गरेका कामहरूको फेहरिस्त प्रस्तुत गरेपछि बिदा मागे ।

प्रधानमन्त्री ओलीको दह्रिलो साथ पाउँदा पनि अर्थमन्त्रीमा निरन्तरता पाउन नसक्ने छाँट देखेपछि बिदा मागेका थिए, उनले ।

खतिवडाले बिदा मागेपछि जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने– 'आजसम्म सरकारमा रहेर काम गर्नुभयो, अब सरकारबाहिर रहेर पनि सहयोग गर्नुपर्छ, तपाईं देशलाई चाहिने मान्छे हो ।'

खतिवडाले शुक्रवार साँझ मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । यससँगै अबको अर्थमन्त्री को बन्ला भन्ने चर्चा शुरू भएको छ ।

तर, बालुवाटारनिकट स्रोतलाई विश्वास गर्ने हो भने प्रधानमन्त्री ओली तत्काल कसैलाई पनि अर्थमन्त्री बनाउने सोचमा छैनन् ।

खतिवडाको राजीनामापश्चात उनले सम्हाल्दै आएका अर्थ र सञ्चार दुवै मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हालेका छन् ।

सञ्चार मन्त्रालयको जिम्मेवारी कुनै विश्वासिलो नेतालाई दिएपनि अर्थमन्त्रालय भने तत्काल कसैलाई नसुम्पिने प्रधानमन्त्रीको तयारी छ ।

बरु प्रधानमन्त्रीले युवराज खतिवडालाई नै 'अर्थमन्त्री'को भूमिकामा निरन्तरता दिन चाहेको स्रोतको दाबी छ ।

त्यसका लागि केही दिनमै खतिवडालाई प्रधानमन्त्रीको अर्थ सल्लाहकार नियुक्त गर्ने तयारी रहेको स्रोतले बतायो ।

'डा. खतिवडाले शुक्रवारसम्म अर्थमन्त्रालयमा बसेर जिम्मेवारी सम्हाल्नुभयो, अब बालुवाटार बसेर सम्हाल्ने सम्भावना प्रबल छ,' स्रोतले भन्यो ।

वामदेवको राष्ट्रिय सभामा जाने चहानामा तगारो बन्दै आएका प्रधानमन्त्री ओलीले अन्तत: उनलाई राष्ट्रिय सभामा लैजाने त बताएका छन्, तर शुक्रवारको मन्त्रिपरिषद् बैठकमा ओलीले यसको उच्चारण समेत गरेनन् ।

वामदेवले राष्ट्रिय सभामा गएर अर्थमन्त्री बन्ने चाहना व्यक्त गरेका छन्, सोही कारण प्रधानमन्त्री ओली वामदेवलाई तत्काल राष्ट्रिय सभामा लैजान चाहँदैनन् ।

ओलीले केही समय यो विषयलाई यत्तिकै अल्झाउने सम्भावना छ । बरु खतिवडाले छिट्टै नयाँ जिम्मेवारी पाउने सम्भावना रहेको स्रोत बताउँछ ।

खतिवडाको नियुक्ति प्रधानमन्त्रीको सल्लाहकारका रूपमा भएपनि भूमिका भने 'छायाँ अर्थमन्त्री'को हुने स्रोतले बतायो ।

'हस्ताक्षर प्रधानमन्त्रीको चल्छ, तर निर्णय लिने उहाँ (खतिवडा) ले नै हो,' स्रोतले भन्यो, 'शुक्रवार मन्त्रिपरिषद् बैठकमा अब बाहिर बसेर सहयोग गर्नुपर्छ भनेर प्रधानमन्त्रीले भन्नुको कारण पनि यही हो ।'

वामदेवलाई लानुपर्ने भएपछि मन्त्रिपरिषद् पुनर्गठनमा पनि विलम्ब ?

शुक्रवारको बैठकमा प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने भन्दै ढुक्कले काम गर्न मन्त्रीहरूलाई आग्रह गरे ।

यसको कारण अर्थमन्त्रीमा वामदेवले राखेको इच्छा नै हो । सोही कारण प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनलाई केही समय पर धकेल्ने सम्भावना छ ।

आफ्नो चाहनाविपरीत अर्थमन्त्रीलाई हटाउनुपरेपछि प्रधानमन्त्री ओलीले यसलाई इगोको रूपमा लिएको हुनसक्ने उनीइतर समूहका एक नेता बताउँछन् ।

सोही कारण अर्थमन्त्रीमा आफूले भनेजस्तो हुने निश्चित नहुँदासम्म उक्त मन्त्रालय ओलीले आफैंसँग राख्नेछन् ।

अर्थमन्त्रीमा अहिले नेकपाभित्र मुख्यत: ३ जनाको चर्चा छ । पार्टीका अधिकांश नेताको चाहना र जनमत पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा छ ।

यस्तै उपाध्यक्ष वामदेव गौतमले पनि अर्थमन्त्री बन्ने आकांक्षा व्यक्त गरेका छन् । ओली सहज अवस्थामा यी दुवैलाई अर्थमन्त्री बनाउने पक्षमा छैनन् ।

अरू कसैलाई अर्थमन्त्री बनाउन परेमा कि पूर्व अर्थमन्त्री समेत रहेका पार्टी महासचिव विष्णु पौडेल कि त हाल परराष्ट्रमन्त्री रहेका नेता प्रदीप ज्ञवालीलाई  ओलीले अर्थमन्त्री बनाउने सम्भावना रहेको स्रोतको दाबी छ ।

चर्चा गौतम, पौडेल र पाण्डेको भए पनि बाजी भने बालुवाटारबाट खतिवडाले नै मार्ने त होइनन् ?

यद्यपि क्याबिनेट मन्त्री नै बन्ने खतिवडाको बाटो भने बन्द भइसकेको छ ।

संविधानको विशेष व्यवस्थामा टेकेर सांसद नरहँदा पनि ६ महिना अर्थमन्त्री बनेका खतिवडा संसद्को यो कार्यकालभरि पुन: मन्त्री बन्न सक्ने छैनन् ।

पढ्नुहोस्, यो पनि :

नेकपामा अब क–कसको खुल्दैछ भाग्य ? यी हुन् सम्भावित मन्त्री