ओली-प्रचण्डबीच वार्ताको तयारी, यसरी हुँदैछ सहमतिको प्रयास

ओली-प्रचण्डबीच वार्ताको तयारी, यसरी हुँदैछ सहमतिको प्रयास

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानउन्मुख देखिएको छ । गत असार १० गतेबाट जारी पार्टीको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेपछि नेकपा विवादमा फसेको थियो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ट नेता माधव नेपाल लगायतका ओलीइत्तरका शक्तिहरुले दुबै पदबाट राजीनामा मागेपछि नेकपा फुटको निकटमा पुगेको थियो । 

यसबीचमा अध्यक्षद्धय ओली र प्रचण्डबीच दर्जन बढीपटक वार्तामा बसेर सहमतिको प्रयास गरेपनि उक्त प्रयास सफल हुन सकेको थिएन । पछिल्लो समय २ अध्यक्षबीच वार्ताको वातवरण विग्रिएको थियो । तर नेकपाका दोस्रो तहका नेताहरुले दुई अध्यक्षबीच विवाद अन्त्यको लागि मध्यस्थकर्ताको काम गरेका थिए । विशेषगरी महासचिव विष्णु पौडल, सुवास नेम्वाङ र जनार्दन शर्माको पहलकदमीपछि नेकपामा सहमतिको खाका तयार भएकाे बताईएको छ । 

सहमतिको खाका तयार भएपछि प्रधानमन्त्री केपी ओलीले हिजो एक अन्तवार्तामा नेकपा नफुट्ने बताएका थिए । यहि सरकारले  ५ वर्षसम्म निरन्तरता पाउने बताएका थिए । दिन गनेरै ५ दिनभित्र नेकपामा परिवर्तनको सिनारीयो देखा पर्ने बताएका थिए । ओलीले उत्साहित हुँदै अन्तवार्ता दिएको भोलिपल्ट (आज) ओली र प्रचण्डबीच भेटवार्ता हुने भएको छ । 

आज वालुवाटारमा ओली र प्रचण्डबीच वार्ता हुने भएको हो । दोस्रो तहका नेताहरुले तयार गरेको खाकालाई ओली र प्रचण्डले अन्तिमरुप दिने बताईएको छ । सहमतिको नयाँ खाकामा महाधिवेशनको मिति तोक्ने, दुई अध्यक्षले राजीनामा दिने, केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक कमिटीमा परिणत गर्नेलगायतका विषय समावेश भएको स्रोतको दाबी छ । 

त्यसैगरी ओलीलाई सर्वोच्च नेता बनाउने, महाधिवेशनमा प्रचण्डलाई एकल अध्यक्षको उम्मेद्वार बनाउने र निर्वाचनपछि माधव नेपाललाई प्रधानमन्त्री र झलनाथ खनाललाई राष्ट्रपतिको रुपमा अगाडि सार्नेमा पनि शीर्ष नेताहरु सहमति नजिक छन् । यी विषय टुङ्ग्याएर वृहत सहमतिको साथ नेकपाको जारी विवादको अन्त्य गर्ने दोस्रो तहका नेताहरुको तयारी रहेको छ । 

नछुटाउनुस्, यो पनि :

नेकपाको विवाद यसरी हुँदैछ समाधान, दुबै अध्यक्षले राजीनामा दिने !