प्रधानमन्त्रीले दिए काउनडाउन : ५ दिनभित्र के हुँदैछ नेकपामा ? यस्तो छ भित्री तयारी

प्रधानमन्त्रीले दिए काउनडाउन : ५ दिनभित्र के हुँदैछ नेकपामा ? यस्तो छ भित्री तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा लामो समयदेखि जारी विवाद छिट्टै हल हुने संकेत गरेका छन् ।

एपीवान टेलिभिजनका लागि भुषण दाहालसँग कुराकानी गर्दै प्रधानमन्त्रीले ५ दिनको काउनडाउन शुरू गर्न आग्रह गरेका हुन् ।

के भने प्रधानमन्त्री ओलीले ?

प्रधानमन्त्रीज्यू, तपाईं आज मसँग कुराकानी गरिरहँदा अर्को हप्ता या १० दिनमा यो जुन खिचातानीका बीच अगडि बढिरहेको छ पार्टीभित्रको यहाँहरूको सम्बन्ध, त्यो गाँसिएको देखिरहनुभएको छ कि मैले जति बोले पनि यो त छिन्छ …

कति दिन भन्नुभयो तपाईंले ?

हप्ता दशदिन, यति त दिनै पर्ला ।

हप्ताभन्दा यतै, १० दिनको आधा ५ दिनमा फेरि मँग बस्नुस्, के हुन्छ सिनारियो !

५ दिन बाँकी छ म कोशिश गर्छु ।

पाँच दिन । १ भनेर भोलि (बिहीवार) बाट काउनडाउन शुरू गर्नुस् ।

 

के हुँदैछ ५ दिनमा ?

स्रोतका अनुसार अहिले नेकपामा नयाँ शिराबाट सहमतिको प्रयास भइरहेको छ ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता नभएपनि दोस्रो तहका नेताहरूको माध्यमबाट दुईपक्षीय कुराकानी चलिरहेको छ ।

सहमतिका लागि नेकपामा पछिल्लो समय चलिरहेको गृहकार्य भनेको– महाधिवेशनको मिति तोकेर महाधिवेशन आयोजक कमिटी बनाउने हो ।

महाधिवेशन आयोजक कमिटी बनाएपछि केन्द्रीय कमिटी विघटन हुनेछ ।

दुवै अध्यक्षले राजीनामा दिने गरी सहमतिको प्रयास भइरहेको छ ।

महाधिवेशन आयोजक कमिटीको नेतृत्व कसले लिने भन्नेमा चाहिँ सहमति हुन बाँकी छ ।

महाधिवेशन आयोजक कमिटीको संयोजकमा प्रधानमन्त्रीको दाबी नरहेको र अर्का अध्यक्ष प्रचण्ड नै संयोजक बन्ने कि दोस्रो पुस्ताका कोही नेतालाई संयोजक बनाएर अघि बढ्ने भन्ने विषयमा छलफल चलिरहेको नेकपा स्रोतले बतायो ।

यसका साथै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य पनि चलिरहेको छ । पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर माधव नेपाल समूहको समेत सहभागिता सुनिश्चित हुने गरी नयाँ मन्त्रीहरू चुनिने छ ।

बढीमा २ वटा प्रदेशको मुख्यमन्त्री फेरिन सक्ने चर्चा पनि छ ।