काठमाडौं । शनिबार साँझ बालुवाटारमा सबै मन्त्री र राज्यमन्त्रीहरुलाई छलफलका लागि बाेलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुट्ने अन्तिम अवस्थामा रहेकाे बताए ।
यतिमात्र हाेइन उनले मन्त्री र राज्यमन्त्रीहरुलाई अब फेरि भेट हुन नसक्ने पनि भन्दै आफूहरु कसलाई समर्थन गर्ने हाे कित्ता प्रष्ट पार्न निर्देशन दिए ।
अर्थात पछिल्लाे समय सरकारमै रहेर पनि सरकार गिराउने खेलमा सामेल भएकाहरुमाथि उनकाे प्रहार थियाे ,"सहयोग गर्ने मन्त्रीहरू खुलेर आऊ, नगर्ने मन्त्रीले राजीनामा देऊ "
राष्ट्रपति विद्या भण्डारीसँगको भेटलगत्तै मन्त्रीलाई भेटेका ओलीले उनीहरूसँग सहयोगको कुनै अपेक्षा राखेनन् । बरु, कित्ता मात्र स्पष्ट गरिदिन भने ।
‘तपाईंहरू एक–दुई दिन सोच्नोस्, मसँग हुनुहुन्छ कि उता हुनुहुन्छ, सोेचेर मलाई जवाफ दिनुहोस् ।’
यसो भनेर प्रधानमन्त्रीले समर्थक जति भए पनि आफू आफ्नो प्रतिरक्षा गर्न सक्षम र तयार रहेको सन्देश मात्र दिएका छैनन् । आफ्नो पक्षमा नउभिने मन्त्रीलाई राजीनामा दिन नैतिक दबाब पनि दिएका छन् ।
प्रधानमन्त्रीको यो आग्रहपछि अब मन्त्रीहरूका अगाडि एउटा अवस्था सिर्जना भएको छ । पहिलाे प्रधानमन्त्रीको पक्षमा बलियोसँग उभिने र दाेस्राे प्रधानमन्त्रीलाई राजीनामा बुझाउने । यसको अर्थ प्रधानमन्त्रीले भन्दा अघि मन्त्रीहरूले मार्गप्रशस्त गर्नुपर्ने वेला आएको छ ।
अहिले प्रधानमन्त्री ओलीले देश चलाउन सक्नुहुन्न भन्ने मन्त्रीहरू उनको मन्त्रिपरिषद्मा छन्।