ओलीसँगकाे वार्तापछि झनै निराश बने प्रचण्ड,  राष्ट्रपति भेट्न शीतल निवास पुगे

ओलीसँगकाे वार्तापछि झनै निराश बने प्रचण्ड,  राष्ट्रपति भेट्न शीतल निवास पुगे

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीसँगको छलफलपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ लागेका छन् । बालुवाटारमा झण्डै ३ घण्टा ओलीसँग वार्तामा बसेका प्रचण्ड ओली लचिलो हुने संकेत नदेखेपछि मध्यस्थता गर्न आग्रह गर्न राष्ट्रपति  भण्डारीलाई भेट्न गएको स्रोतको दाबी छ । 

त्यसअघि उनले पार्टीमा बढ्दै गएको विवादका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए । छलफलको क्रममा प्रचण्डले पार्टी फुटाउने छुट कसैलाई नभएको बताएका थिए । तपाई सहमतिमा सरकार चलाउनुस् भन्दा पनि नमान्ने, राजीनामा माग्दा पार्टी फुटाउन तम्सने ? भन्दै ओलीलाई प्रश्न गरेका थिए । 

ओलीले भने पार्टी एकताको भावविपरित सरकार र पार्टी अध्यक्षबाट राजीनामा मागेर अफ्यारोमा परेको आरोप लगाए । ओलीले आजको भेटमा पनि भारतको इशारामा साथीहरु बुरुक्क गरेकोले प्रतिरक्षा गर्नुपरेको बताएका थिए । 

ओली आक्रमक रुपमा प्रस्तुत भएपछि प्रचण्डले मध्यमार्गी बाटो खोजेर पार्टीलाई फुट्नबाट बचाउनुपर्ने बताएका थिए । प्रचण्डले सरकार र पार्टी अध्यक्षमध्ये एक पदबाट राजीनामा दिएर त्याग गरी पार्टी फुटबाट बचाउन आग्रह गरेका थिए ।  ओलीले भने राजीनामाको कुरा गर्नुहुन्छ भने आ आफ्नो ढंगबाट अगाडि बढौं भन्ने जवाफ फकाएको स्रोतको दाबी छ । 

३ घण्टासम्मको वार्तामा ओली टसमस नभएपछि प्रचण्ड निराश हुँदै भोली थप गृहकार्य गरेर वार्तामा बसौं भन्दै बालुवाटारबाट बाहिरिएका थिए । बालुवाटारबाट बाहिरिएलगत्तै उनी राष्ट्रपतिलाई भेट्न शीतल निवासतर्फ लागेका हुन् ।

बालुवाटारको छलफलमा नेकपा महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी थिए। विवाद उत्कर्षमा पुगेपछि सहमति खोज्नका लागि स्थायी कमिटी बैठक आज नबस्ने भएको छ । भोलि ११ बजे बस्ने भनिएपनि २ अध्यक्षबीको वार्ता सकारात्मक नभएकोले स्थायी कमिटी बैठक अन्योल भएको छ ।