स्थायी कमिटी बैठकबाटै ओलीलाई सरकारबाट फिर्ता बोलाउने तयारी !

स्थायी कमिटी बैठकबाटै ओलीलाई सरकारबाट फिर्ता बोलाउने तयारी !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक बिहान ११ बजेपछि सुरु हुने बताइएको छ । यसअघि बुधबार बसेको बैठकमा अध्यक्षद्वयले सम्बोधन गरेका थिए । 

बुधबारको बैठकमा सम्बोधनको क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने विषयमा भएको सहमतिको पालना हुनुपर्ने बताएका थिए । प्रचण्डले ओलीलाई सरकारले जनताको भावनाबमोजिम काम गर्न नसकेको भन्दै राजीनामा दिएर आलोपालाे प्रधानमन्त्री बन्ने सहमतिको कार्यन्वयन गर्न दबाब दिएका थिए । 

प्रधानमन्त्री केपी ओलीले भने निर्वाचनको बेलामा स्थायी सरकार दिन्छौं भनेर मत मागेकोले यहि सरकार आगामी निर्वाचनसम्म जाने बताएका थिए । सरकारको कामको बचाउ गर्दै प्रधानमन्त्री ओलीले बहुमतको खेलमा नलाग्न सहकर्मी नेताहरुलाई सुझाव दिएका थिए । ओलीले सरकारको बचाउ गर्दै गर्दा अर्का वरिष्ट नेता माधव नेपालले सरकारको बखान नगर्न चेतावनीसमेत दिएका थिए । 

बुधबारको बैठक सौहार्दपूर्ण नभएपछि ओलीले विहीबार प्रचण्डसँग एकल वार्ता गरेका थिए । वार्ताको क्रममा एमसीसी, पार्टी र सरकारकाबारेमा सहमतिमा अगाडि बढ्न ओलीले गरेको आग्रहलाई प्रचण्डले नकारेको स्रोतको दाबी छ । नेकपामा पछिल्लो राजनीतिक समिकरणमा केपी ओली एकातिर र प्रचण्ड, नेपाल, झलनाथ खनाल र वामदेव गौतम अर्कोतिर भएका छन् । 

आज बस्ने स्थायी कमिटी बैठकमा पनि ओलीइत्तरका शक्तिहरु ओलीलाई पेलेरै प्रस्तुत हुने योजनामा रहेको स्रोतको दाबी छ । ओलीले एमसीसी हुवहु  पास गर्न जोड दिने र सरकारको काम कारवाहीलाई नजरअन्दाज गर्दै अगाडि बढ्न खोजेमा स्थायी कमिटीले उनलाई सरकारबाट फिर्ता बोलाउने निर्णयसम्म हुनसक्ने स्रोतको दाबी छ । 

पछिल्लो राजनीतिक समिकरणमा पार्टीका सबै कमिटीमा अल्पमतमा परेका ओली आजको बैठकमा कसरी प्रस्तुत हुनेछन् भन्ने आम चासोको विषय बनेको छ । यसअघि सचिवालय बैठकमा विवादास्पद अध्यादेश र पार्टी सञ्चालनमा भएका कमजोरीबारे आत्माआलोचना गरेका ओलीले स्थायी कमिटी बैठकमा पनि आत्माआलोचना गरेर सहमतिका आधारमा सरकार र पार्टी चलाउने प्रतिवद्धता नजनाए सरकारबाटै फिर्ता बोलाउने ओलीइत्तरको शक्तिहरुको तयारी रहेको छ । 

आजको बैठकमा एमसीसीका विषयमा केन्द्रित हुने जनाइएको छ । यसअघि तय भएका एजेण्डामा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड १९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठानिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविध छन् ।