प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सम्झौता सम्झाएपछि ओलीले दिए यस्तो जवाफ

प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सम्झौता सम्झाएपछि ओलीले दिए यस्तो जवाफ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा आलोपालो प्रधानमन्त्री बन्ने विषयमा २०७५ साल जेठ २ गते भएको संझौताको प्रसंग उठेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा नेकपा अध्यक्ष प्रचण्डले एकताअघिको सम्झौता पालना नभएको गुनासो गरेका थिए । उनल तत्कालीन माओवादी र एमालेवीच पार्टी एकता हुनुभन्दा अघिल्लो दिन २०७५ साल जेठ २ गतेको सम्झौता कार्यान्यवन नभएकोमा घुमाउरो शैलीमा आपत्ति समेत जनाए ।

नेकपा स्थायी कमिटीको बैठकको उदघाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सम्झौता कार्यान्वयन नहुँदा दुवै अध्यक्षवीच आशंका बढ्ने गरेको टिप्पणी गरेका हुन् । जेठ २ को सम्झौता पालना नहुँदा पार्टीभित्र विश्वासको वातावरण कमजोर बनेको विश्लेषण सुनाए ।

प्रचण्डपछि बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी र सरकार सञ्चालनमा कमी कमजोरी भएको स्वीकार गरेका थिए । पार्टी र सरकारसामु चुनौतीहरु रहेको बताउँदै प्रधानमन्त्री ओलीले त्यसको समाना गर्न सबैले एकजुट हुनुपर्ने बताएका थिए । यसबीचमा भएका कमी कमजोरी सच्याएर अगाडि बढ्नुको विकल्प नभएको भन्दै ओलीले आन्तरिक छलफल र सहमतिमै पार्टी र सरकार सञ्चालन गर्ने प्रतिवद्धता ओलीले जनाएका थिए । तर ओलीले आलोपालो प्रधानमन्त्री बन्ने विषयमा कुनै प्रतिक्रिया जनाएनन् ।

बुधबारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठक दुई अध्यक्षको सम्वोधनसँगै शुक्रबार पुनः बस्नेगरी टुंगिएको छ ।