नागरिकताकाे विषयमा निर्णय लिन नेकपा सचिवालय बैठक बस्दै

नागरिकताकाे विषयमा निर्णय लिन नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं ।  नागरिकता विधेयकका सम्बन्धमा निर्णय लिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ ।

 बिहान ९ बजेका लागि बैठक बोलाइएको बैठकमा नागरिकताका सम्बन्धमा रहेका विवादकाा सम्बन्धमा निर्णय लिने बताइएकाे छ । 

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयक दफावार छलफलका क्रममा छ । डेढ वर्षदेखि विधेयक समितिमा नै छ । विवादका कारण विधेयक समितिले पारित गर्न सकेको छैन । राजनीतिक सहमतिको प्रयासका लागि विधेयकको छलफल हाल रोकिएको छ । 

गृहमन्त्री रामबहादुर थापाले समय मागेपछि समितिले दिएकाे ५ दिनकाे समय पनि आइतबारसम्म मात्र छ । 

बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दलका नेताहरुसँग पनि विवादबारे छलफल गरेका थिए ।

मुख्यगरी विधेयकमा वैवाहिक अंगीकृत नागरिकताको विषय विवादित छ । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्काल नागरिकता दिने वा केही समयपछि दिने भन्नेमा विवाद छ । समितिले अहिले कम्तीमा सात वर्षपछि मात्र नागरिकता दिनेगरी प्रस्ताव गरेको छ । 
तर, प्रतिपक्ष कांग्रेस र मधेशवादी दल उक्त प्रस्तावको विपक्षमा छन् । सत्तारुढ दल भने सात वर्षको समयसीमा राखेर जानुपर्ने पक्षमा छ ।