विदेशी महिलालाई नागरिकता दिन समय तोक्ने कि नतोक्ने? विधेयकको विवादमा छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

विदेशी महिलालाई नागरिकता दिन समय तोक्ने कि नतोक्ने? विधेयकको विवादमा छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं ।  नागरिकता विधेयकका विवादित विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बोलाइएको छ । शनिबार बिहान ९ बजेका लागि बैठक बोलाइएको हो । 

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयक दफावार छलफलका क्रममा छ । डेढ वर्षदेखि विधेयक समितिमा नै छ । विवादका कारण विधेयक समितिले पारित गर्न सकेको छैन । राजनीतिक सहमतिको प्रयासका लागि विधेयकको छलफल हाल रोकिएको छ । 

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दलका नेताहरुसँग पनि विवादबारे छलफल गरेका छन् । 

मुख्यगरी विधेयकमा वैवाहिक अंगीकृत नागरिकताको विषय विवादित छ । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्काल नागरिकता दिने वा केही समयपछि दिने भन्नेमा विवाद छ । समितिले अहिले कम्तीमा सात वर्षपछि मात्र नागरिकता दिनेगरी प्रस्ताव गरेको छ । 
तर, प्रतिपक्ष कांग्रेस र मधेशवादी दल उक्त प्रस्तावको विपक्षमा छन् । सत्तारुढ दल भने सात वर्षको समयसीमा राखेर जानुपर्ने पक्षमा छ ।