नेपालमा कोरोनाकै कारण २-३ जनाको मात्र मृत्यु भएको छ : प्रधानमन्त्री ओली

नेपालमा कोरोनाकै कारण २-३ जनाको मात्र मृत्यु भएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार विधिसँगै राम्रो भएकाले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको दाबी गरेका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भएको भनिएपनि उनीहरूको कोरोनाकै कारण निधन नभएको बताए । त्यो अन्य धेरै देशको भन्दा कम भएको बताएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका भनिएकाहरुमध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको उनको दाबी छ । अरु कारणले मृत्यु भएकाहरुमा पनि संक्रमण देखिएपछि मृत्यु मान्नुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्डकाका कारण मृत्यु मान्नु परेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, ‘कोरोनाका कारण मृत्यु भएको यति होइन, भन्नु परेको मात्र हो ।’

प्रधानमन्त्रीले भने, ‘कतिपयलाई यथार्थ भन्दा रुचिकर मान्नुभएको छैन । २० जनाको निधन भएको छ तर उनीहरूको कोरोनाकै कारण निधन भएको होइन । एकाध, दुई, तीन केस हुनसक्छ कोरोनाकै कारणले निधन भएको । उनीहरूको अन्य बिमारीको कारणले मृत्यु भएको हुनसक्छ तर कोरोनाले छोएको हुनसक्छ ।’