काठमाडौं । सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । कोरोना भाइरस संक्रमितको संख्या २ हजार नाघेसँगै सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने रणनीति बनाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘कोभिड–१९ स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजना’ मा २ हजार सक्रिय केस पुगेपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्न सकिने उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणा सम्बन्धमा छलफल गर्दै आएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले गत ११ चैतदेखि लकडाउन गर्दै आएको छ ।
बुधबारसम्म संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले स्वास्थ्य संकटकालका विषयमा छलफल भइरहेको भन्दै अझै निर्णय नभएको बताए । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जनस्वास्थ्य संकटकाल घोषणा सम्बन्धमा सरकारलाई सिफारिस नगरिएको बताए ।
उनले भने, ‘औपचारिक(अनौपचारिक रुपमा छलफल भइरहेको छ । अझै निर्णय भएको छैन ।’ जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४८ ले पनि जनस्वास्थ्य संकटकाल घोषणा गर्ने विषयमा उल्लेख गरेको छ । कुनै विपद् एकभन्दा बढी स्थानीय तहमा हुन गएमा, सम्बन्धित प्रदेशले एकभन्दा बढी प्रदेशमा जनस्वास्थ्य विपद् अवस्था सिर्जना हुन गएमा सरकारले तोकिएबमोजिम जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न सक्ने जनस्वास्थ्य सेवा ऐनमा उल्लेख छ ।
संकटकाल घोषणा भएमा के हुन्छ ?
– लक्षणविहीन संक्रमितलाई घर या क्वारेन्टिनमा राखिने
– सबै अस्पतालले कोरोना संक्रमितको उपचार गर्नुपर्ने
– द्रुत प्रतिकार्य टोली तथा आपतकालीन चिकित्सकीय समूह खट्ने
पहिलो चरणमा संक्रमित २ हजार जनालाई अस्पतालमै राखेर उपचार गर्ने सरकारको योजना थियो । संक्रमितको संख्या २ हजार नाघेपछि थप रणनीति बनाउन सरकार र स्वास्थ्य मन्त्रालय निरन्तर छलफलमा छन् । २ हजारदेखि ५ हजार संक्रमित देखिएमा ४ हजार जनालाई आइसोलेसनको आवश्यकता पर्ने र १ हजार जनालाई आईसीयू र भेन्टिलेटरसहितको स्वास्थ्य सेवा आवश्यक पर्ने योजनामा उल्लेख छ ।
५ हजारदेखि १० हजार संक्रमित देखिएमा आठ हजार जनालाई आइसोलेसनको आवश्यकता पर्ने र २ हजार जनालाई आईसीयू र भेन्टिलेटरसहितको स्वास्थ्य सेवा आवश्यक पर्ने योजनामा उल्लेख छ ।
कोरोना भाइरस पोजेटिभ देखिए पनि कोरोनाबाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड–१९ वाट मृत्यु भएको नमानिने भएको छ । यसअघि मृत्यु हुँदाको बखत कोरोना संक्रमण देखिएको व्यक्तिलाई कोभिड–१९ का कारण मृत्यु भएको मानिँदै आएको थियो । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ ९पहिलो संशोधन २०७७० बनेसँगै अन्य कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड–१९ का कारणले मृत्यु भएको नमानिने भएको हो ।
कार्यविधिमा भनिएको छ, ‘कोभिड १९ निगरानी प्रयोजनका लागि कोभिड १९ बाट मृत्यु भन्नाले कुनै अन्य स्पष्ट र कोभिड १९ सँग सम्बन्धित नहुने ९जस्तैः गम्भीर चोटपटक० र क्लिनिकल चिह्न, लक्षणहरु र निदानका आधारमा सम्भावित वा पुष्टि भएका केशहरुलाई भन्ने बुझ्नुपर्छ ।’
कोभिड–१९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्म अवधि विचमा निज पूर्णतः निको नभएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।
कोभिड–१९ संक्रमण पुष्टि भई मृत्यु भएमा शववाहनबाहेक खटबाट समेत बोक्न सक्ने व्यवस्था संशोधन गरिएको कार्यविधिमा समेटिएको छ । सकेसम्म मृत शरीर शववाहनमै ल्याउनुपर्ने र शववाहन नभएको स्थानमा शव बोक्न प्रयोग हुने साधन ९खट० बोक्ने व्यक्तिले मृत शरीरले छुन नसक्ने गरी व्यवस्था मिलाउनु पर्नेछ ।
यसैबीच, नेपालमा बुधबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमध्ये १७९ जना पुरुष र २२ जना महिला रहेका छन् । यस्तै, संक्रमित ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । मृतक दोलखाका ७६ वर्षीय पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ती वृद्धलाई गत १३ जेठमा काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको थियो । नेपालमा हालसम्म संक्रमितमध्ये २ सय ७८ जना उपचारपछि निको भएका छन् । बुधबार १२ जना डिस्चार्ज भएका हुन् । कोरोनाको आशंकामा गत २४ घण्टामा ४ हजार ९ सय २४ जनाको पीसीआरबाट नमुना परीक्षण भएको छ ।
८० हजार २ सय ६७ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । मन्त्रालयका अनुसार देशभर हाल १ लाख ५५ हजार ८ सय ६८ जनालाई क्वारेन्टिनमा बसेका छन् । बुधबार तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा संक्रमित भेटिएसँगै संक्रमण फैलिएको जिल्लाको संख्या ६४ पुगेको हो । (राजधानी दैनिकबाट)