काठमाडौं।नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न (फुली) लगाइदिएका छन्।
गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री गुरुङले महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न पहिराइदिएका हुन्। यसअघि प्रहरी महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न लगाउने परम्परा रहँदै आएकोमा यसपटक गृहमन्त्री स्वयंले फुली लगाइदिएका हुन्।
बुधबार नै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दानबहादुर कार्कीलाई हटाएर केसीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। सोही बैठकले बाहिरिएका कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको नयाँ जिम्मेवारी दिएको छ।