‘अर्नब’ चक्रवातले भारतमा विनाश, ५ जनाको मृत्यु

‘अर्नब’ चक्रवातले भारतमा विनाश, ५ जनाको मृत्यु

काठमाडौँ । बंगालको खाडीबाट उत्पन्न भएको चक्रवात अर्नबका कारण अहिलेसम्म भारतमा ५ जनाको मृत्यु भएको छ। भारतीय अनलाइन दैनिक भास्करका अनुसार चक्रवातका कारण आन्ध्र प्रदेश र ओडिसामा गरी पाँच जनाको ज्यान गएको हो। 

चक्रवातको प्रभाव अन्य राज्यमा पनि महसुस भइरहेको छ। मध्य प्रदेश, राजस्थान, बिहार र उत्तर प्रदेश लगायत १५ राज्यमा बिहीबार रातिदेखि वर्षा भइरहेको छ। यो आगामी दुई दिनसम्म जारी रहने अनुमान गरिएको छ।

मध्य प्रदेशका सतना, कटनी र छतरपुर लगायतका धेरै जिल्लामा बुधबार वर्षा भएको छ। राजस्थानको भरतपुर र कोटा डिभिजनका केही क्षेत्रमा पनि वर्षा भएको छ। मौसममा आएको परिवर्तनका कारण जयपुर, पिलानी, सिकर, बारमेर र चुरु लगायत लगभग सबै सहरमा तापक्रम २ डिग्री सेल्सियससम्म झरेको छ।

सिकरमा रातको तापक्रम १०.५ डिग्री सेल्सियस पुगेको छ। यसैबिच चक्रवातको प्रभावका कारण छत्तीसगढका १२ जिल्लाका विद्यालय बिहीबार बन्द गर्न आदेश दिइएको छ। ओडिसाका १६ जिल्लामा पनि विद्यालयहरू बन्द गरिएका छन्।

राज्यका लगभग ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बंगालको खाडीबाट अर्नब चक्रवात मंगलबार बिहान ३:३० बजेतिर आन्ध्र प्रदेशको तटमा ठोकिएको थियो। जतिबेला १२५ देखि १३५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्यो र भारी वर्षा भयो।