काठमाडौँ । इजरायलको निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको दल लिकुड र उनको दक्षिणपन्थी तथा अतिराष्ट्रवादी गठबन्धनले प्रारम्भिक अनुमानभन्दा बढी सिट प्राप्त गरिरहेको छ ।
यद्यपि, आधाभन्दा बढी मतगणना भइसक्दा पनि स्पष्ट विजेता देखिएको छैन । इजरायली निर्वाचनको इतिहासमा सन् १९९६ को निर्वाचनलाई रोचक घटनाका रूपमा सम्झिने गरिन्छ । त्यतिबेला मतदाताहरू लेबर पार्टीका नेता सिमोन पेरेजले जितेको ठानेर सुतेका थिए ।
तर, भोलिपल्ट बिहान उठ्दा बेन्जामिन नेतन्याहुले पहिलोपटक प्रधानमन्त्री पद हात पारेको खबर सार्वजनिक भएको थियो । त्यसबेला निर्वाचन प्रणाली फरक थियो । मतदाताले पार्टीसँगै प्रधानमन्त्रीका उम्मेदवारलाई पनि प्रत्यक्ष मतदान गर्न पाउँथे ।
तीस वर्षपछि अहिले फेरि नेतन्याहु इजरायली राजनीतिमा चर्चाको केन्द्रमा छन् । मतगणना जारी रहँदा ‘बिबी’ उपनामले चिनिने नेतन्याहुको दल लिकुड र उनको दक्षिणपन्थी अतिराष्ट्रवादी गठबन्धनले मतदानपछिका सर्वेक्षणले अनुमान गरेभन्दा बढी सिट प्राप्त गरिरहेको छ ।
तर, इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतन्याहुको अन्तिम निर्वाचन हुने विपक्षी गठबन्धनको आशाबीच यसपटक पनि सरकार गठनको स्पष्ट तस्बिर देखिएको छैन । नेतन्याहुको राजनीतिक भविष्य अन्योलमा
इजरायली राजनीतिमा लामो समयदेखि ‘जादुगर’ का रूपमा चिनिएका नेतन्याहुले आफ्नो दल सबैभन्दा ठूलो भएको दाबी गरिरहेका छन् ।तर, प्रारम्भिक विवरणअनुसार उनको दलले अघिल्लो अवस्थाको तुलनामा सिट गुमाएको छ भने उनको गठबन्धनले अझ बढी सिट गुमाएको छ । उनका प्रमुख प्रतिस्पर्धी तथा राजनीतिमा नयाँ अनुहार मानिने गाडी आइसेनकोटका लागि पनि सरकार गठन गर्न आवश्यक ६१ सिटको बहुमत जुटाउने विकल्प सीमित देखिएका छन् ।
सरकार गठनमा अरब दलको भूमिका निर्णायक बन्न सक्ने निर्वाचनसँगै इजरायलको राष्ट्रिय पहिचान र अरब समुदायको राजनीतिक प्रतिनिधित्वबारे बहससमेत चर्किएको छ । यसपटक रेकर्ड सङ्ख्यामा सिट प्राप्त गर्ने अनुमान गरिएका अरब नेतृत्वका दलहरूलाई सरकार गठनमा सहभागी गराउने कि नगराउने भन्ने प्रश्न उठेको छ ।
नेतन्याहुको गठबन्धनले अरब दलहरूको सहभागितालाई यहुदी इजरायलका लागि खतरा मानेको छ । तर, अन्य पक्षले अरब दललाई सरकार गठनमा सहभागी गराउनु लोकतान्त्रिक प्रक्रियाकै हिस्सा भएको तर्क गरेका छन् ।