काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि उम्मेदवार बन्न चाहने व्यक्तिहरूको वैवाहिक अवस्था, आर्थिक शुद्धता, व्यक्तिगत आचरण र डिजिटल व्यवहारसम्बन्धी कडा मापदण्डहरू प्रस्ताव गरेको छ। पार्टीले तयार पारेको नयाँ उम्मेदवार छनोटसम्बन्धी ढाँचामा उम्मेदवारको योग्यतालाई पारदर्शी र उत्तरदायी बनाउने गरी विभिन्न प्रावधानहरू समेटिएका छन्।
प्रस्तावित मापदण्डअनुसार उम्मेदवार बन्न इच्छुक व्यक्तिले आफ्नो पारिवारिक तथा वैवाहिक अवस्था कानुनी रूपमा पूर्ण रूपमा वैध र स्पष्ट रहेको अनिवार्य स्वघोषणा गर्नुपर्नेछ। यससम्बन्धी कुनै पनि विषय लुकाइएको वा विवादित नरहेको कुरा सुनिश्चित गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको छ।
त्यस्तै, उम्मेदवारको वित्तीय तथा आर्थिक शुद्धतालाई छनोटको एक अत्यन्त महत्त्वपूर्ण आधार बनाइएको छ। मिटरब्याज, सट्टेबाजी, हप्ता असुली, ढुकुटी, हुन्डी तथा सहकारी संस्थाको बचत अपचलनजस्ता कुनै पनि प्रकारका अनौपचारिक र अवैध आर्थिक कारोबारमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न नरहेको स्पष्ट स्वघोषणा गर्नुपर्ने व्यवस्था मापदण्डमा राखिएको छ।
पार्टीले उम्मेदवारको व्यक्तिगत आचरण र सामाजिक व्यवहारलाई समेत उच्च प्राथमिकता दिएको छ। प्रस्तावित व्यवस्थाअनुसार घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार तथा सार्वजनिक स्थानमा अमर्यादित व्यवहारमा संलग्न नरहेको व्यक्ति मात्र उम्मेदवार बन्न योग्य हुनेछन्।
यसैगरी, डिजिटल माध्यमको दुरुपयोग रोक्न कडा नियम राखिएको छ। सामाजिक सञ्जालमार्फत साइबर बुलिङ, चरित्र हत्या, अनलाइन ठगी वा अन्य कुनै पनि प्रकारका डिजिटल दुर्व्यवहारमा आफ्नो संलग्नता नरहेको स्वघोषणा उम्मेदवारले अनिवार्य रूपमा गर्नुपर्ने प्रस्ताव गरिएको छ। रास्वपाले अघि सार्दै गरेको यी नयाँ व्यवस्थाहरूले उम्मेदवारको कानुनी निष्ठा, आर्थिक पारदर्शिता र डिजिटल आचरणलाई आगामी निर्वाचनको टिकट वितरणमा मुख्य आधार बनाउने स्पष्ट पारेको छ।