उच्च नैतिक चरित्रको प्रश्न उठाउँदै साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम संसदीय समितिबाट अस्वीकृत

उच्च नैतिक चरित्रको प्रश्न उठाउँदै साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम संसदीय समितिबाट अस्वीकृत

काठमाडौं। संसदीय सुनुवाइ समितिले साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम सर्वसम्मत रूपमा अस्वीकृत गरेको छ। उनीविरुद्ध परेको महिला हिंसाको उजुरी, जर्मनीबाट निष्कासन (डिपोर्ट) भएको प्रसङ्ग तथा नैतिक आचरण र कूटनीतिक योग्यतामाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन नगर्ने निर्णय गरेको हो।

गत असोज २ गते सरकारले सुनारको नाम साउदी अरबको राजदूतका लागि सिफारिस गरेको थियो। तर सुनुवाइ प्रक्रियाका क्रममा उनीमाथि परेका उजुरी र तथ्यहरूमाथि छलफल गर्दा उच्च नैतिक चरित्र नपुगेको ठहर गर्दै समितिले नाम अस्वीकृत गरेको जनाएको छ।

निर्णय प्रक्रियाको ठीक अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गजला शमिम मियाँ मिकरानीले छलफलपछि हरेक दृष्टिकोणबाट सुनार राजदूत बन्न अयोग्य रहेको जानकारी गराएकी थिइन्।

त्यस्तै, रास्वपाका प्रमुख सचेतक समेत रहेका सांसद कविन्द्र बुर्लाकोटीले सुनारको प्रस्तुति, कागजात र योग्यता राम्रो देखिएको र दलित समुदायबाट आएर उनले सशक्त काम गरेको भए पनि पुरानो घटनाका कारण नैतिक चरित्रको प्रश्न उठेकाले नाम अस्वीकृत गर्नुपर्ने अवस्था आएको बताए। उनले देशको राजदूत जस्तो प्रतिष्ठित पदमा कुनै विवाद नहोस् भन्ने चाहनाका कारण यो कदम चाल्नुपरेको उल्लेख गरे। "राजदूतका लागि उच्च नैतिकता चाहिन्छ। उहाँको पुरानै घटना भए पनि चरित्रको हिसाबले जोडिने देखियो," बुर्लाकोटीले भने।

सांसदहरूको भनाइपछि समिति सभापति बोधनारायण श्रेष्ठले सुनारको नाम अनुमोदनका लागि निर्णय प्रक्रिया अघि बढाएका थिए। लगत्तै समितिले सर्वसम्मतिबाट उनको नाम अस्वीकृत गर्ने निर्णय सुनाएको हो। नेपालको कूटनीतिक इतिहासमा संसदीय सुनुवाइ समितिबाटै प्रस्तावित राजदूतको नाम अस्वीकृत भएको यो घटनालाई निकै चासोका साथ हेरिएको छ।

छुटाउनुभयो कि ?