राष्ट्रिय भेलाको तयारीमा जुट्यो एमाले

राष्ट्रिय भेलाको तयारीमा जुट्यो एमाले

काठमाडौँ । नेकपा (एमाले) राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक आज बसेको छ।

बैठकमा राष्ट्रिय भेलाको तयारी, सहभागिता र भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा छलफल भएको छ। पार्टीका उपमहासचिव लेखराज भट्टले पार्टीका नीति, पारित दस्तावेज तथा वर्तमान राजनीतिक परिस्थितिलाई केन्द्रमा राखेर राष्ट्रिय भेला गर्न लागिएको जानकारी दिए।

पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार राष्ट्रिय भेला अभिमुखीकरणमूलक हुनेछ। मंसिर २ गते बिहान ११ बजे सुरु हुने भेला भोलिपल्ट साँझसम्म सञ्चालन हुनेछ।
राष्ट्रिय भेलामा पार्टीका केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसंगठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित ३ हजार १६४ जना सहभागी हुनेछन्।

भेलामा पार्टीका ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना तथा प्रदेश भूगोलका आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चका तर्फबाट ५५ जना सहभागी हुनेछन्। त्यसैगरी, ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लासहित जिल्ला तहबाट ४४० जनाको सहभागिता रहनेछ। पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले १ हजार ५०६ जना सहभागी हुने ढकालले जानकारी दिए।

यसैगरी, संघीय संसद् तथा राष्ट्रिय सभासहित ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना, उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जना र जनसंगठनबाट ९६ जना सहभागी हुनेछन्।