नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ, २८ असोज । नवरात्रको चौथो दिन आज दसैँ घर वा पूजा कोठामा नवदुर्गामध्येकी चौथो रूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि रहिआएको छ। आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका तापलाई 'कुष्मा' भनिन्छ। नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तजनका यी तीनै ताप हरण गरिदिने भएकाले उहाँको नाम कुष्माण्डा पर्न गएको हो। विभिन्न पुराणहरूमा उल्लेख भएअनुसार भगवती कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्नुहुन्छ।

श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा 'कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा' भनी व्याख्या गरिएको छ, जसको अर्थ त्रिविध तापले युक्त यो संसार जसको पेटभित्र अवस्थित छ, उहाँ नै भगवती कुष्माण्डा हुनुहुन्छ।

यस वर्ष नवरात्रको पहिलो दिन असोज २५ गते आइतबारका दिन दसैँ घर वा पूजा कोठामा वैदिक विधिअनुसार घटस्थापना गरी जौको जमरा राखिएको थियो। सोही दिन घटस्थापना गरिएको स्थानमा नवदुर्गाकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो।

त्यस्तै, दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो रूप ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो।

बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रहरूको पाठ पारायण पनि गरिन्छ। नवरात्रका अवसरमा शक्तिस्वरूपा देवीको आराधना र पूजा गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यही मान्यताका आधारमा वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्छन्। नौ दिनसम्म पूजा आराधना गरी थापिएको प्रसाद विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म ग्रहण गरिन्छ। यसरी नेपालीहरूले १५ दिनसम्म भव्यताका साथ बडादसैँ पर्व मनाउने गर्छन्।

दुर्गा पक्ष पनि भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ। यिनै नौवटा दुर्गाका स्वरूपलाई नवदुर्गा भनिन्छ।

नवरात्रको समयमा देशभरका विभिन्न शक्तिपीठहरूमा पूजा आराधना तथा दर्शनका लागि भक्तजनको ठूलो भीड लाग्ने गर्छ। काठमाडौँ उपत्यकाभित्रका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायतका मन्दिरहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ।

त्यसैगरी उपत्यकाबाहिरका प्रसिद्ध शक्तिपीठहरू जस्तै पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारालगायतका स्थानमा पनि दर्शनार्थीहरूको उल्लेख्य भीड लाग्ने गरेको छ।