मेष: बोल्दा विशेष सचेत बन्नुपर्ने दिन छ। बन्धुसँगको सहकार्यले महत्त्वपूर्ण काम बन्नेछन् भने वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बौद्धिक व्यक्तिको सहयोग लिएमा दिन अझ सकारात्मक बन्नेछ।
वृष: आम्दानी बढ्ने र वैदेशिक क्षेत्रको प्रयास सफल हुनेछ। स्वदेशी व्यापार तथा सहकर्मीको सहकार्यले फाइदा पुर्याउनेछ। यद्यपि, दाजुभाइसँग काम गर्दा भने केही सचेत हुनुपर्ने देखिन्छ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ।
मिथुन: कुनैपनि क्षेत्रमा लगानी गर्नुअगाडि गम्भीरतापूर्वक विचार पुर्याउनुहोला। आज दुई पाङ्ग्रे सवारी साधनको यात्रा नगर्नु नै उपयुक्त हुन्छ। दिनलाई अनुकूल बनाउन दानबाट दिनको सुरुवात गर्नु लाभदायक हुनेछ।
कर्कट: दिन सहज छ। अध्ययन अध्यापनमा मन जानेछ र स्वदेशमै रोजगारीका अवसर मिल्न सक्छन्। विपक्षीहरूले समेत तपाईंको प्रशंसा गर्नेछन्, तर परिवारका सदस्यलाई अन्धविश्वास गर्दा धोका हुन सक्छ।
सिंह: विरोधीहरूको गतिविधि सक्रिय रहने भएकाले हरेक व्यवहारमा सावधानी अपनाउनुहोला। परिवारमा सल्लाह नगरी कुनै काम अगाडि बढाए असफलता हात लाग्न सक्छ। स्वास्थ्यमा विशेष ख्याल गर्नुहोला, सानो लापरवाहीले पनि समस्या ल्याउन सक्छ।
कन्या: आर्थिक लाभ हुने र दिन अत्यन्त रमाइलो छ। परिवारको सल्लाहबमोजिम गरिएका कामबाट फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नुका साथै साथीभाइको सहयोग र प्रेम सम्बन्ध सुमधुर हुनेछ।
तुला: प्राविधिक क्षेत्रको शिक्षामा प्रगति हुनेछ भने बौद्धिक व्यक्तिको भेटले मन प्रसन्न रहनेछ। राज्यको महत्वपूर्ण अंगमा सक्रिय व्यक्तिहरूको पदोन्नति हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
वृश्चिक: कुनै नयाँ योजना बनाउनुभएको छ भने आजै अगाडि बढाउनुहोला। परिवारको साथ र सहयोगले सोचेका कामहरू सम्पन्न हुनेछन्। आज मिष्ठान्न भोजन प्राप्त हुने योग छ।
धनु: दाजुभाइको साथ र सहयोगले प्रगति हासिल हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। तर, प्रतिस्पर्धी वा विपक्षी दलतर्फ बौद्धिक व्यक्तिहरू रहने भएकाले रणनीति अपनाउँदा सचेत हुनु आवश्यक छ।
मकर: शुभ ग्रहको प्रभाव र धनस्थानमा चन्द्रमाको उपस्थितिले सम्पत्तिको सहि सदुपयोग गर्नु उचित हुनेछ। सहकर्मीको सहकार्यबाट लाभ मिल्नेछ। शिक्षामा केही ढिलासुस्ती भए पनि परिवारको पूर्ण साथ रहनेछ।
कुम्भ: दिन सामान्यतया सहज छ र चिताएको काम बन्नेछ। परिवारको साथ र सहयोग भरपूर प्राप्त हुनेछ, यद्यपि स्वास्थ्यमा भने केही समस्या देखिन सक्ने भएकाले सतर्क रहनुहोला।
मीन: सम्पत्ति खर्च गर्दा विशेष विचार पुर्याउनुहोला। गोपनीयता भंग हुन सक्ने भएकाले बोली र व्यवहारमा एकरूपता ल्याउनु आवश्यक छ। परिवारको सहमति र आस्थालाई शिरोधार्य गरेमा शिक्षा र अन्य क्षेत्रमा सहजता मिल्नेछ।