काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका निम्ति जारी मतदानमा मध्याह्न साढे १२ बजेसम्म दुई हजार ६४४ मत खसेको छ । शुक्रबार (असोज २३) बिहान ८ः३० देखि १२ः३० बजेसम्मको विवरणमा विभिन्न प्रदेशबाट उक्त संख्यामा मत खसेको निर्वाचन समितिले जनाएको छ ।
कोसी प्रदेशबाट ४१०, सुदूरपश्चिम र कर्णालीबाट ६०६, लुम्बिनीबाट ३८९, गण्डकीबाट ३३०, वाग्मतीबाट ४८७ र मधेस प्रदेशबाट ४२२ मत खसेको छ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न मतदान गरिरहेका छन् ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न मतदान गरिरहेका छन् ।
महाधिवेशन प्रतिनिधिको संख्या सात हजार ३१७ छ । मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन । प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्र मतदान गर्न पाउनेछन् ।
मतदानमार्फत सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । विभिन्न पदमा परेको उमेदवारीअनुसार महाधिवेशन प्रतिनिधिले सम्बन्धित मतपत्रमा मतदान गर्नेछन् ।
मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिनेछ ।