प्यानल वा गुट छैन, अफवाहको पछि नलागी विवेकपूर्ण मतदान गर्नुस्: गगन थापा

प्यानल वा गुट छैन, अफवाहको पछि नलागी विवेकपूर्ण मतदान गर्नुस्: गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचार गरिएको भन्दै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिका लागि मतदान सुरु भएपछि सामाजिक सञ्जालमार्फत उहाँले यसपटक पार्टीमा कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारे।

बिहीबार राति महाधिवेशनमा उम्मेदवारी दिएका नेताहरूको नाम समेटिएको एउटा ‘लिस्ट’ सार्वजनिक भएको थियो। उक्त लिस्टमा आफ्नो कुनै पनि आधिकारिक सिफारिस वा समर्थन नरहेको प्रष्ट पार्दै थापाले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि भ्रम, प्रभाव वा अफवाहको पछि नलाग्न सचेत गराएका छन्। उनले पार्टीको हितलाई सर्वोपरि राख्दै आफ्नै स्वतन्त्र विवेक, मूल्यांकन र विश्वासका आधारमा मतदान गर्न सबै प्रतिनिधिलाई आह्वान गर्नुभयो।

महाधिवेशनको निर्वाचन प्रक्रिया प्राविधिक कारणले निर्धारित समयभन्दा एक दिन ढिलो सुरु भएको प्रसङ्ग उल्लेख गर्दै थापाले यसबाट प्रतिनिधिहरूमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेका छन्।

उनले यस महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासमा सहभागी हुँदा सबै प्रतिनिधिलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले भाग लिन आग्रह गरेका छन्। प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले नै पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वाससमेत सभापति थापाले व्यक्त गरेका छन्।

छुटाउनुभयो कि ?