कांग्रेस सुधार्न र बदल्न अडिग छु: गगन थापा

कांग्रेस सुधार्न र बदल्न अडिग छु:  गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको खस्किँदै गएको मूल्य–मान्यतालाई सुधार्दै नयाँ ढङ्गले अघि बढाउन आफू पूर्ण रूपमा अडिग रहेको बताएका छन्।

कांग्रेसको १५ौँ महाधिवेशनअन्तर्गत बन्दसत्रको समापन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भदौ २३ र २४ पछिको विकसित राजनीतिक परिस्थितिमा नयाँ पार्टी खोलेर नेतृत्व गर्न अनेकौँ प्रस्ताव आए पनि आफूले १४ वर्षदेखि झन्डा बोकेको ऐतिहासिक कांग्रेसलाई नै सुधार्ने र बदल्ने बाटो रोजेको प्रष्ट पारे।

पार्टीलाई एउटा परिवारको रूपमा चित्रण गर्दै थापाले भुइँ तहका कार्यकर्ता र सभापतिको अधिकार समान रहेको धारणा राखे। नेतृत्व भनेको निश्चित समयका लागि पाइने जिम्मेवारी मात्र भएकाले पार्टीको सार्वभौम शक्ति तल्लो तहका कार्यकर्ता र शुभेच्छुकमै निहित रहेको उनले बताए।

पछिल्लो समय प्रविधि र सामाजिक सञ्जालका कारण समाज तीव्र गतिमा रूपान्तरण भइरहेको र पुराना राजनीतिक दलप्रति जनताको वितृष्णा बढ्दै गएको स्वीकार्दै उनले अब कांग्रेसले नयाँ पुस्ता र युवाहरूको अपेक्षा अनुसार आफूलाई बदल्नुपर्नेमा जोड दिए।

महाधिवेशनपछि आफ्नो २० प्रतिशत समय मात्रै पार्टीको आन्तरिक व्यवस्थापनमा खर्च हुने र बाँकी ८० प्रतिशत समय कांग्रेसलाई बाहिर आमजनतामाझ बहस गर्ने पार्टीका रूपमा स्थापित गर्न लगाउने उनको दाबी छ। महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पार्टीमा फर्किन र कानुनी उल्झन तथा अदालत जाने क्रम रोक्न आग्रह गर्दै उनले पूर्वसभापति शेरबहादुर देउवासहितका नेताहरूको सहयोग रहेकाले अब पार्टीलाई विवादमा अल्झाइराख्न नहुने बताए।

निर्वाचन प्रक्रियामा धेरै प्रतिस्पर्धी रहेकाले जित्नेभन्दा हार्नेको सङ्ख्या बढी हुनेतर्फ ध्यानाकर्षण गराउँदै सभापति थापाले करिब ३० जना उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरे। उनले वडा तहबाटै नेतृत्व चयन गर्ने गरी आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने र पार्टीमा रहेका पाँच पुस्तालाई जोड्दै सांगठनिक 'जाम' फुकाउनकै लागि विधान संशोधन गरिएको स्पष्ट पारे, न कि कुनै नेताको व्यवस्थापनका लागि।

छुटाउनुभयो कि ?