काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ उपत्यका महिलातर्फबाट प्रा. डा. अमिता प्रधान शाक्य केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित भएकी छन्। प्रतिस्पर्धी अन्य उम्मेदवार नभएपछि उनी काठमाडौँ उपत्यका महिला कोटाबाट निर्विरोध चयन भएकी हुन्। यस निर्विरोध निर्वाचनसँगै प्रा. डा. शाक्य जारी १५औँ महाधिवेशनबाट निर्विरोध निर्वाचित हुने पहिलो केन्द्रीय सदस्य बनेकी छन्।
लामो समयदेखि देशको स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी शाक्य एक परिचित प्राज्ञिक एवं अनुसन्धानकर्ता हुन्। उनी हाल पीपुल्स डेन्टल कलेज एन्ड हस्पिटलमा प्राध्यापकका रूपमा कार्यरत छिन् भने नेपाल स्वास्थ्य अनुसन्धान परिषद् मा कन्सल्ट्यान्टका रूपमा समेत आफ्नो जिम्मेवारी सम्हाल्दै आएकी छन्।
बायोस्टाटिस्टिक्स, लैङ्गिक मुद्दा तथा क्लिनिकल एवं सार्वजनिक स्वास्थ्य अनुसन्धानका क्षेत्रमा विशेष दक्षता हासिल गरेकी उनी पछिल्लो समय प्राज्ञिक क्षेत्रसँगै नेपाली कांग्रेसको सक्रिय राजनीतिमा पनि उत्तिकै प्रभावकारी रूपमा अगाडि बढिरहेकी छन्।