काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ। राष्ट्रिय सभा गृह र खुलामञ्च क्षेत्रमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने गरी केन्द्रीय निर्वाचन समितिले सम्पूर्ण तयारी पूरा गरेको छ।
महाधिवेशनमा सहभागी देशभरका ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले कांग्रेसको २९७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्नेछन्। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ नै सार्वजनिक गरिसकेको छ।
यसअघि बिहान ७ बजेदेखि नै मतदान सुरु गर्ने गरी समय तालिका तय गरिए पनि प्रतिकूल मौसमका कारण केही परिमार्जन गरिएको छ। काठमाडौँमा भएको भारी वर्षा र केही प्राविधिक तयारी पूरा गर्नुपर्ने भएकाले मतदानको समय तीन घण्टा पछाडि सारिएको केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए।
सहज र व्यवस्थित मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्र र हलको व्यवस्था गरिएको छ। संशोधित कार्यतालिका अनुसार बागमती प्रदेशका प्रतिनिधिहरूका लागि राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’ तोकिएको छ। खुलामञ्चलाई मतदान केन्द्र ‘ख’ कायम गरी अन्य प्रदेश तथा समूहको व्यवस्थापन गरिएको छ।
जसअनुसार खुलामञ्चभित्र कोशी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधिका लागि छुट्टै मतदान स्थल बनाइएको छ भने गण्डकी प्रदेशका प्रतिनिधिहरूका लागि ‘हिमाल हल’ र मधेश प्रदेशका प्रतिनिधिहरूका लागि ‘तराई–मधेस हल’ तोकिएको छ। यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिहरूले खुलामञ्चभित्रै रहेको ‘पहाड हल’ बाट मतदान गर्ने व्यवस्था मिलाइएको छ।
निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गर्दा अनिवार्य रूपमा प्रतिनिधिको आधिकारिक परिचयपत्र साथमा ल्याउन र नामावली रुजु गराउन आग्रह गरेको छ। आचारसंहिताको पूर्ण पालना गराउनका लागि मतदानस्थलभित्र मोबाइल फोनलगायत निषेधित सामग्री लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ। उम्मेदवारी दर्ता, दाबी–विरोध तथा फिर्ताको सम्पूर्ण कानुनी प्रक्रिया सकिएकाले साँझ ६ बजे मतदान सम्पन्न भएलगत्तै मतगणनाको तयारी सुरु गरिने निर्वाचन समितिले जनाएको छ।