काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ। नेपालगन्जबाट उडान भरेको सीता एयरको ‘९एन–एजे’ कलसाइन भएको जहाज आज बिहान ८:२५ बजे अवतरणका क्रममा रनवेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक पदम रावलका अनुसार, अवतरणका क्रममा जहाजको पछाडिपट्टिको दायाँ चक्का फुस्किएपछि दुर्घटना भएको हो। चक्का बाहिर निस्किएलगत्तै जहाज केही परसम्म उछिट्टिएको थियो।
दुर्घटनालगत्तै पाइलटले होसियारी अपनाउँदै तत्काल इन्जिन बन्द गरेपछि जहाजमा सम्भावित आगलागी हुनबाट जोगिएको छ। दुर्घटनाका कारण जहाज अहिले पनि रनवेमै रोकिएको छ।
प्रहरीका अनुसार, यस घटनामा कुनै पनि किसिमको मानवीय क्षति भने भएको छैन।