भारी वर्षाको जोखिम पछि सरकार उच्च सतर्क: एसएमएसमार्फत 'रियल टाइम' पूर्वसूचना दिइने

भारी वर्षाको जोखिम पछि सरकार उच्च सतर्क: एसएमएसमार्फत 'रियल टाइम' पूर्वसूचना दिइने

काठमाडौं।  आगामी शुक्रबारदेखि आइतबारसम्म देशभर भारी वर्षाको सम्भावना देखिएपछि सम्भावित बाढी, पहिरो तथा विपद्को जोखिम न्यूनीकरण गर्न सरकारले उच्च सतर्कता अपनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागसँग समन्वय गर्दै हरेक घण्टा नदीको जलसतह र वर्षाको ‘रियल टाइम’ निगरानी गरी सर्वसाधारणलाई एसएमएसमार्फत पूर्वसूचना उपलब्ध गराउने जनाएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जोखिमयुक्त हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकलाई तत्काल सुरक्षित स्थानतर्फ फर्किन आग्रह गरिएको छ भने ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न र उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न सुझाव दिइएको छ। मौसमको अवस्था हेरेर मुख्य राजमार्गहरूमा सवारी आवागमन पूर्ण रूपमा रोक्न सकिने भएकाले शुक्रबार र शनिबार अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरिएको छ। सडक अवरुद्ध भएमा तत्काल खुलाउन राजमार्गहरूमा डोजरसहितका भारी उपकरण परिचालन गरिएका छन्।

यस्तै, पाकेको धानबाली जोगाउन किसानहरूलाई कृषि मन्त्रालयमार्फत एडभाइजरी जारी गरिएको छ। बाढीका बेला नदी किनारमा गएर भिडियो/टिकटक बनाउने वा दाउरा संकलन गर्नेजस्ता जोखिमपूर्ण काम नगर्न प्राधिकरणले चेतावनी दिएको छ। सम्भावित विपद्को सामना गर्न ७७ वटै जिल्लाका कमान्ड पोस्ट र सुरक्षा निकायहरूलाई ‘हाई अलर्ट’मा राखिएको छ।

छुटाउनुभयो कि ?