काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा नियम उल्लंघन गर्ने ९ सय ७५ वटा सवारीसाधनका चालकहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानमा सञ्चालन गरेको नियमित तथा विशेष जाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको हो।
कारबाहीमा पर्नेहरूमा तीव्र गतिमा सवारी चलाउने १ सय ३० जना र मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४८ जना रहेका छन्। त्यस्तै, सिसिटिभी फोटेजका आधारमा ६१ जना, रातो बत्तीको इसारा उल्लंघन गर्ने ५१ जना र लेन अनुशासन पालना नगर्ने ४७ जना चालक कारबाहीमा परेका छन्।
यसैगरी, सवारीसाधनको यान्त्रिक अवस्था ठिक नभएका ५५, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने २१, एकतर्फी (वान-वे) सडकमा सवारी चलाउने १४ र अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ५ सय ४८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
सडक दुर्घटना न्यूनीकरण तथा सवारी आवागमनलाई व्यवस्थित बनाउन उपत्यकाका विभिन्न नाका तथा भित्री सडकहरूमा कडाइका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ।