काठमाडौँ। भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कामदार तथा व्यक्तिहरूको खोजीका क्रममा आज थप १३ वटा शव फेला परेका छन्।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ सुरुङभित्र ढलानका लागि बुनिएको फलामे डन्डीको जालीमा अल्झिएको अवस्थामा ती शवहरू फेला पारेको हो।
विशेष काट्ने उपकरण तथा उद्धार प्रविधिको प्रयोग गरी उद्धार टोलीले सुरुङभित्रबाट शवहरू बाहिर निकालेको छ। सुरुङभित्र अझै पनि खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको नेपाली सेनाले जनाएको छ।