बाढीपीडितका लागि चीनबाट ६ सैन्य विमानमार्फत राहत सामग्री प्राप्त

बाढीपीडितका लागि चीनबाट ६ सैन्य विमानमार्फत राहत सामग्री प्राप्त

काठमाडौं। चीन सरकारले नेपालका बाढीपीडितका लागि ६ वटा सैन्य कार्गो विमानमार्फत उद्धार तथा राहत सामग्री उपलब्ध गराएको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले चिनियाँ सहयोगबारे जानकारी गराउँदै राहत सामग्री प्राप्त भएको उल्लेख गरे।

मन्त्री पुनका अनुसार चीनबाट आएका विमानहरूमार्फत ड्रोन, डीएनए परीक्षण किट, पीसीआर मसिन, बडी फ्रिजर, टेन्ट तथा भाँडाकुँडालगायतका अत्यावश्यक सामग्रीहरू प्राप्त भएका छन्।

भौतिक सामग्रीका साथै चीनबाट अनुदानस्वरूप २ लाख अमेरिकी डलर नगद र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि थप २ लाख अमेरिकी डलर प्राप्त भएको उहाँले जानकारी दिए। त्यसैगरी, रेडक्रसमार्फत २ लाख डलर बराबरका राहत सामग्रीसमेत उपलब्ध भएको उनले प्रष्ट पारे

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन चीनबाट ६ जना विपद् राहत विज्ञ र १५ जना फोरेन्सिक विज्ञ नेपाल आएका छन्। ती फोरेन्सिक विज्ञहरूले हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) मा रहेर कार्य गरिरहेको उनले खुलाए। मन्त्री पुनले कठिन र जोखिमपूर्ण परिस्थितिमा त्रिशूली क्षेत्रमा उद्धार टोलीलाई पुर्‍याएको योगदानका लागि चिनियाँ विज्ञ टोलीप्रति धन्यवाद व्यक्त गरे।

यस्तै, चीन सरकारबाट प्राप्त एआई (AI) तथा स्याटेलाइट डाटाले विपद् प्रभावित क्षेत्रको अवस्था अनुगमन गर्न महत्त्वपूर्ण सहयोग पुगेको मन्त्री पुनको भनाइ छ। उहाँले ‘माजु प्रणाली’मार्फत प्राप्त हुने रियल टाइम डाटाको प्रयोग र नेपाल–चीनबीचको डाटा आदानप्रदान प्रक्रियालाई निरन्तरता दिनुपर्नेमा विशेष बल दिए

मन्त्री पुनले विपद्का समयमा प्रभावित क्षेत्रका नागरिकहरूलाई प्रत्यक्ष सहयोग पुर्‍याएकोमा नेपाल सरकारका तर्फबाट चीन सरकारप्रति हार्दिक आभार व्यक्त गर्दै चिनियाँ सरकार र विज्ञ टोलीको सहयोगका लागि हृदयदेखि नै कृतज्ञता प्रकट गरेका छन्।

छुटाउनुभयो कि ?