भोटेकोशी बाढी अपडेट: मृतकको सङ्ख्या १,४०९ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

भोटेकोशी बाढी अपडेट: मृतकको सङ्ख्या १,४०९ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं।  रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४०९ पुगेको छ। बिहीबार बिहान ५ बजेसम्मको विवरणअनुसार रसुवामा १९९, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी कुल १ हजार ४०७ जनाको शव फेला परेको छ। बाढीमा घाइते भएका थप दुई जनाको भने काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको छ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए  नमुना सङ्कलनसहितका आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३७ वटा शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९१४ गरी कुल ३ हजार २०० वटा डिएनए नमुना सङ्कलन गरिएको छ। पहिचान हुन नसकेका १ हजार ३६१ वटा शवहरूको विवरण र हुलिया नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। बाढीमा परेर हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य निरन्तर जारी छ। यसैगरी, बाढीका कारण विस्थापित भएका १ हजार ९७९ जना व्यक्तिहरूलाई विभिन्न जिल्लाहरूमा रहेका होल्डिङ सेन्टरहरूमा आश्रय दिएर राखिएको छ।

छुटाउनुभयो कि ?