काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा नौ करोड २५ लाख रुपैयाँ योगदान गरेको छ।
विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले बुधबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो। विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले गरेको निर्णयानुसार विभिन्न तहका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी उक्त कोष सङ्कलन गरिएको हो।
कट्टा गरिएको रकमको विवरणअनुसार उपकुलपति, रेक्टर र रजिष्ट्रारले एक महिनाको तलब योगदान गरेका छन्। यस्तै, प्राध्यापक तथा सोसरहका कर्मचारीबाट १० दिन, उपप्राध्यापक, शाखा अधिकृत र प्रशिक्षकस्तरबाट सात दिन, मुख्य कार्यालय सहायक र कार्यालय सहायकस्तरबाट पाँच दिन तथा श्रेणीविहीन कर्मचारीहरूबाट दुई दिन बराबरको पारिश्रमिक कट्टा गरिएको छ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्याएकाले पीडितहरूको राहत तथा पुनःस्थापना कार्यमा सघाउ पुर्याउन विश्वविद्यालय परिवारका तर्फबाट यो सहयोग गरिएको उपकुलपति थापाले जानकारी दिए।