राजविराज अस्पताल घटना: प्रशासनिक सुधार र कर्मचारी व्यवस्थापनमा मन्त्रालयको कडा कदम

राजविराज अस्पताल घटना: प्रशासनिक सुधार र कर्मचारी व्यवस्थापनमा मन्त्रालयको कडा कदम

काठमाडौं।  राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा प्रसूति सेवाका लागि पुगेकी महिलाले अस्पताल परिसरबाहिरै शिशु जन्माउनुपरेको गम्भीर घटनाबारे गठित अनुगमन समितिले आफ्नो छानबिन प्रतिवेदन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई बुझाएको छ।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठको संयोजकत्वमा गठित टोलीमा मन्त्रालय र काउन्सिलका विज्ञहरू डा. पवनजंग रायमाझी, डा. विजय कापरी, डा. अजय कुमार शाह, डा. सारिका गोईत र डा. रविन बस्नेत सहभागी थिए।

टोलीले गत भदौ २५ देखि २७ गतेसम्म अस्पतालको स्थलगत अनुगमन गरी तथ्य-प्रमाण, सेवा प्रवाहको अवस्था र सम्बन्धित स्वास्थ्यकर्मी तथा अस्पताल प्रशासनको भूमिकाबारे विस्तृत अध्ययन गरेको थियो।

प्रतिवेदन प्राप्त भएसँगै मन्त्रालयले प्रशासनिक रूपमा तत्काल गर्नुपर्ने कदमहरू अगाडि बढाएको छ। छानबिनका क्रममा चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीहरूबाट पेसागत आचारसंहिता उल्लंघन भएको पुष्टि भएकाले आवश्यक कारबाहीका लागि सम्बन्धित पेसागत काउन्सिलहरूमा सिफारिस पठाइएको छ।

साथै, अस्पतालमा कर्मचारीको नियुक्ति र व्यवस्थापन अत्यन्तै अव्यवस्थित रहेको औँल्याउँदै समितिबाट नियुक्त कर्मचारीहरूको उचित व्यवस्थापन गर्नुपर्ने निष्कर्ष प्रतिवेदनले निकालेको छ।

अस्पतालको कर्मचारी व्यवस्थापनलाई चुस्त बनाउन ८० जना अस्थायी दरबन्दी थप गर्ने प्रस्तावमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेको र उक्त प्रस्ताव शीघ्र मन्त्रिपरिषद्मा पेश गर्ने तयारी भइरहेको छ।

त्यसैगरी, छात्रवृत्तिमा अध्ययन पूरा गरी आएका ७ जना चिकित्सकलाई दुई वर्षका लागि सोही अस्पतालमा काजमा पठाइएको छ भने चिकित्सक तथा कर्मचारीको नियुक्ति र सञ्चालनलाई व्यवस्थित बनाउन मन्त्रालयले आवश्यक परिपत्रसमेत गरिसकेको छ।

आगामी दिनमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन सेवा प्रवाह, जनशक्ति र अस्पताल प्रशासनलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता मन्त्रालयले जनाएको छ।

यसका साथै आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका, २०७८ अन्तर्गत पाइने निःशुल्क सेवा र सुविधाहरूबारे सर्वसाधारणलाई सूचित गराउन विभिन्न मातृभाषामा जनचेतनामूलक सामग्री तयार पारी प्रचार-प्रसारको कामसमेत अघि बढाइएको छ।