भाेटेकाेशी बाढी: १,४०३ जनाको मृत्यु, १,२३५ शवको सुरक्षित व्यवस्थापन र ४ हजारभन्दा बढी अझै बेपत्ता

भाेटेकाेशी बाढी: १,४०३ जनाको मृत्यु, १,२३५ शवको सुरक्षित व्यवस्थापन र ४ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडाैं। रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ४०३ जनाको मृत्यु भएको छ।

बुधबार बिहान ८ बजेसम्मको विवरण अनुसार विभिन्न जिल्लामा गरी १ हजार ४०१ जनाको शव फेला परेको छ भने काठमाडौंमा उपचारका क्रममा थप २ जनाको ज्यान गएको छ। बाढीका कारण सबैभन्दा धेरै चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव भेटिएको छ। त्यस्तै नुवाकोटमा २०२, रसुवामा १९३, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ जनाको शव फेला परेको छ।

फेला परेका शवहरूको पहिचान र सनाखतका लागि आवश्यक कानूनी तथा प्राविधिक प्रक्रिया पूरा गर्दै हालसम्म १ हजार २३५ वटा शव माटोमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।

मृतकको पहिचान सुनिश्चित गर्न मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९०४ गरी कुल ३ हजार १९० वटा डिएनए नमुना सङ्कलन गरिएको छ भने पहिचान हुन बाँकी १ हजार ३६१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण तथा शव व्यवस्थापनका लागि ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। बाढीमा परी बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य अझै जारी छ भने प्रभावित क्षेत्रका विभिन्न जिल्लाहरूमा बनाइएका होल्डिङ सेन्टरमा हाल २ हजार ८४ जनालाई सुरक्षित रूपमा राखिएको छ।