काठमाडाैं।। भोटेकोशीमा आएको भीषण बाढीका कारण सम्पर्कविहीन बनेकामध्ये सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आएका छन्।
प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाढी प्रभावित विभिन्न जिल्लामा कार्यरत सुदूरपश्चिमका १४३ जना अझै सम्पर्कविहीन छन् भने एक जनाको ज्यान गएको पुष्टि भएको छ।
गत भदौ १० गतेको बाढीपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँ लगायतका क्षेत्रमा कार्यरत सुदूरपश्चिमका नागरिकहरू एकाएक सम्पर्कविहीन भएका थिए।
आफन्तहरूले खोजीका लागि निवेदन दिएपछि सुरु गरिएको प्रयासबाट ७१ जना (११ महिला र ६० पुरुष) सुरक्षित सम्पर्कमा आएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख जनक धामीले बताउनुभयो।
सम्पर्कविहीन र सम्पर्कमा आएकाहरूको जिल्लागत विवरण:
-
कैलाली: ६७ जना सम्पर्कविहीन | ५३ जना सम्पर्कमा
-
कञ्चनपुर: २६ जना सम्पर्कविहीन | ११ जना सम्पर्कमा
-
डडेल्धुरा: १७ जना सम्पर्कविहीन | ६ जना सम्पर्कमा
-
बाजुरा: १६ जना सम्पर्कविहीन
-
बैतडी: ७ जना सम्पर्कविहीन | १ जनाको मृत्यु
-
दार्चुला: ४ जना सम्पर्कविहीन
-
डोटी: २ जना सम्पर्कविहीन | १ जना सम्पर्कमा
-
बझाङ: २ जना सम्पर्कविहीन
-
अछाम: २ जना सम्पर्कविहीन
बाढीमा परी ज्यान गुमाउने बैतडीका एक व्यक्तिको शव बुझेर अन्त्येष्टि गरिसकिएको छ। हाल अझै बेपत्ता रहेका १३ महिला र १३० पुरुषको अवस्था छिटो यकिन गर्न र खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाउन पीडित परिवारले माग गरिरहेका छन्।