काठमाडौं। बाढीका कारण पक्की पुल बगेपछि अवरुद्ध बनेको रसुवा–नुवाकोट सडक खण्डमा वैकल्पिक फड्के र तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ।
फलाखु खोलाको पक्की पुल र स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पुल बाढीले बगाएपछि स्थानीयवासीलाई आवतजावतमा कठिनाइ भएको थियो। स्थिति नियन्त्रणमा लिन र तत्काल आवागमन सहज बनाउन वैकल्पिक संरचना तयार पारिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिनुभयो।
पैदलयात्रीका लागि बेत्रावतीमा बाँस तथा काठको फड्के बनाइएको छ भने स्याफ्रुबेँसीमा फलामे तुइन जडान गरिएको छ। स्याफ्रुबेँसीमा तुइन निर्माण सम्पन्न भइसकेको र त्यस वरपरका पदमार्ग व्यवस्थित गर्ने काम भइरहेकाले एक-दुई दिनभित्र पूर्ण रूपमा सञ्चालनमा आउनेछ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको संयुक्त प्रयासबाट निर्माण गरिएका यी संरचनाले रसुवाका उत्तरी क्षेत्रहरू (गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, स्यो, ग्रे) का साथै लहरेपौवा, जीवजीवे, धैबुङ, भोर्ले र राम्चेलगायत स्थानका बासिन्दालाई राहत पुर्याएको छ।
अस्थायी व्यवस्थाले तत्कालका लागि सहज बनाए पनि दीर्घकालीन समाधानका लागि बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी बेलिब्रिज स्थापना गर्न स्थानीयवासीले माग गरेका छन्।