आज दर खाने दिन: धार्मिक विधिअनुसार तीज पर्व सुरु, के छ शास्त्रीय मान्यता?

आज दर खाने दिन: धार्मिक विधिअनुसार तीज पर्व सुरु, के छ शास्त्रीय मान्यता?

काठमाडौं। हरितालिका (तीज) व्रतको पूर्वसंध्यामा नेपाली नारीहरूले आज दर खाँदै छन्। दर खाएसँगै नेपाली महिलाको महान् पर्व तीज औपचारिक रूपमा सुरु भएको छ।

विशेष गरी भाद्र शुक्ल द्वितीयाका दिन माइतीले छोरीचेलीलाई घरमा बोलाएर दर खुवाउने परम्परा छ। दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध, पोष्टिक र आडिला परिकार खाइन्छ। गहुँको रोटी र घिउ खाँदा बर्तालुका लागि अझ आडिलो हुने धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन्। शास्त्रीय विधानअनुसार दर रातको दुई भाग बाँकी छँदै खाइसक्नुपर्छ।

तीजलाई महिलाहरूले वर्षभरिका दुःख, पीर र वेदना पोख्ने माध्यमका रूपमा पनि लिने गर्छन्। माइतीघर छाडेर कर्मघरमा बस्दा भोगेका भोगाइ र सास्तीलाई नारीहरूले तीजका लोकभाका र गीतका माध्यमबाट सार्वजनिक गर्ने गर्छन्।

पछिल्ला वर्षहरूमा भने तीजका नाममा तडकभडक र उच्छृङ्खलता बढ्दै गएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ। महिनाअघिदेखि नै दर खाने र गरगहना तथा महँगा पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको मौलिक संस्कृतिलाई विकृतितिर लगेको समाजशास्त्री कीर्तिकुमार राई बताउँछन्। नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा.डा. देवमणि भट्टराईका अनुसार भाद्र शुक्ल तृतीयाका दिन नीराहार व्रत बस्नका लागि मात्र अघिल्लो दिन बेलुकी दर खाने शास्त्रीय नियम तोकिएको हो।

आज बेलुकी दर खाएपछि सुरु हुने यो पर्व ऋषि पञ्चमीसम्म चार दिन मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी तीज समापन गर्ने परम्परा छ।

पौराणिक मान्यताअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा तपस्या गरी महादेवलाई पतिका रूपमा प्राप्त गरेकी थिइन्। पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूले उनलाई हरण गरेर (लुकाएर) राखेका थिए।

साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले नीराहार व्रत बसी महादेवलाई प्राप्त गरेको कथा पुराणहरूमा वर्णन गरिएको छ। पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीया परेकाले यस पर्वलाई ‘हरितालिका’ भनिएको हो।