भोटेकोशी-त्रिशूली हिमबाढी क्षति प्रतिवेदन: होटल, पूर्वाधार र आम्दानीमा भारी गिरावट

भोटेकोशी-त्रिशूली हिमबाढी क्षति प्रतिवेदन: होटल, पूर्वाधार र आम्दानीमा भारी गिरावट

काठमाडौं। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी हिमबाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाको पर्यटन क्षेत्रमा मात्रै ५२ अर्ब १३ करोड ६५ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको क्षति पुर्‍याएको प्रारम्भिक अध्ययनले देखाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित ‘भोटेकोशी हिमबाढी क्षति मूल्यांकन समिति’ले तयार पारेको प्रतिवेदनअनुसार हिमचट्टानसहितको पहिरो हिमतालमा खसेर आएको बाढीले होटल, रेस्टुरेन्ट, सवारीसाधन, पदमार्ग, सम्पदा, पर्यटकीय पूर्वाधार, राफ्टिङ तथा क्याम्पिङ साइटमा ठूलो क्षति पुर्‍याएको हो।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य सहदेव धमलाको संयोजकत्वमा गठित समितिले स्थलगत अध्ययन गरी यो प्रारम्भिक विवरण संकलन गरेको हो।

प्रतिवेदनअनुसार भोटेकोशी र त्रिशूली तटीय क्षेत्रका २०७ वटा होटल तथा रेस्टुरेन्टमा क्षति पुग्दा १९ अर्ब ५६ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ। त्यस्तै, रेस्टुरेन्ट क्षेत्रमा १ अर्ब ३८ करोड र पर्यटनसँग सम्बन्धित सवारीसाधनमा १ अर्ब ५१ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।

अन्य पर्यटकीय पूर्वाधारतर्फ पदमार्गमा ५ करोड, सम्पदा तथा पर्यटकीय संरचनामा १ अर्ब १२ करोड र राफ्टिङ तथा क्याम्पिङ साइटमा १५ करोड ५० लाख रुपैयाँको क्षति भएको छ।

भौतिक क्षतिबाहेक पर्यटन व्यवसायको आम्दानीमा पनि गम्भीर असर परेको छ। प्रभावित होटल तथा रेस्टुरेन्टमा विदेशी पर्यटकबाट हुने आम्दानीमा १४ अर्ब ६० करोड रुपैयाँको नोक्सानी भएको अनुमान छ। साथै, लाङटाङ क्षेत्रको व्यावसायिक कारोबारमा १ अर्ब २७ करोड र आन्तरिक पर्यटन आयतर्फ १९ करोड ८७ लाख रुपैयाँ बराबरको असर परेको छ।

क्षतिको विवरण संकलनपछि अब पर्यटन पुनरुत्थानको ठोस योजना बनाएर अघि बढ्नुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले बाढी प्रभावित क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्न समय लाग्ने भएकाले तत्कालका लागि वैकल्पिक गन्तव्य तथा रुट पहिचान गरी पर्यटकीय गतिविधि बढाउनुपर्ने बताए। तिब्बतको नाकामा असर पर्दा नेपालतर्फको ट्रेकिङ रुटमा पनि प्रभाव परेकाले अन्तर्राष्ट्रिय क्षेत्रमा सही सन्देश प्रवाह गर्नुपर्ने उनको भनाइ छ।

यसैगरी, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष भरतजंग पाण्डेले विपद्का बेला अरूको भर पर्नुभन्दा पर्यटन क्षेत्रसँग सम्बन्धित सबै सरोकारवाला मिलेर पुनरुत्थानमा जुट्नुपर्ने बताए। भोटेकोशी तथा त्रिशूली करिडोर महत्त्वपूर्ण पर्यटकीय क्षेत्र भएकाले पुनर्निर्माणसँगै अन्य सुरक्षित गन्तव्यहरूबारे सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा उनले जोड दिए।