रसुवा। गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजना स्थलमा नेपाली सेनाले खोज, उद्धार तथा पहुँच मार्ग पुनर्निर्माणको कामलाई तीव्र रूपमा अघि बढाएको छ।
आयोजनाको 'सर्भिस टनेल' (सेवा सुरुङ) सम्म पुग्ने पहुँच सडक खुलाउन सेनाले उल्लेखनीय प्रगति हासिल गरेको छ। यसका साथै खोला वारिपारि आवतजावतलाई सहज बनाउन डोरी (रोप-वे) समेत टाँगिएको छ। भदौ १० गते बाढी आएकै दिन घटनास्थल पुगेर प्रारम्भिक अनुगमन (रेकी) गरेको सेनाको टोलीले सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै भित्र प्रवेश गर्दा २ जनाको शव फेला पारेको थियो।
भदौ १४ गतेदेखि उद्धार कार्यलाई थप सशक्त बनाउन नेपाली र भारतीय सेनाको संयुक्त विशेषज्ञ टोली खटाइएको छ। यो टोली हाल सुरुङको १०५ मिटरभित्रसम्म पुगेर खोजी कार्य गरिरहेको छ।
उद्धार तथा खोजी कार्यलाई द्रुत गतिमा सम्पन्न गर्न आयोजना स्थलमा उपलब्ध एस्काभेटरका साथै 'बबक्याट' एस्काभेटरको प्रयोग गरी सुरुङभित्र जमेको दलदल पन्छाउने र उत्खनन गर्ने काम निरन्तर जारी राखिएको छ।