विपद्मा ज्यान गुमाएकाहरूको स्मरणमा पशुपतिनाथमा दीप प्रज्वलन

विपद्मा ज्यान गुमाएकाहरूको स्मरणमा पशुपतिनाथमा दीप प्रज्वलन

काठमाडौं। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका साथै देशका विभिन्न भागमा आएको बाढी-पहिरो तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पशुपतिनाथ मन्दिर परिसरमा दीप प्रज्वलन गरिएको छ।

पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपतिनाथ मन्दिर अगाडि आयोजित उक्त कार्यक्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो।

दीप प्रज्वलनका क्रममा विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिनुका साथै बेपत्ता भएका नागरिकहरूको अवस्था चाँडै पत्ता लागोस् भन्दै प्रार्थना गरिएको छ।

हजारौँ भक्तजनहरूको उपस्थिति रहेको उक्त कार्यक्रमअघि आज बिहान पशुपतिनाथस्थित वाग्मती तटमा मृतकहरूको आत्माको शान्तिका लागि विभिन्न धर्मग्रन्थको पाठ पारायणसमेत गरिएको थियो।

छुटाउनुभयो कि ?