त्रिशूली (नुवाकोट)। भोटेकोशी बाढीका कारण गम्भीर रूपमा प्रभावित नुवाकोटमा हराइरहेका नागरिकको खोज तथा उद्धार कार्यलाई थप तीव्र र सूक्ष्म बनाइएको छ।
बाढी आएको ११ दिनपछि शनिबार विदुर नगरपालिका-१० वेत्रावतीबाट ६४ वर्षीया एक महिलाको सकुशल उद्धार गरिएपछि बेपत्ता भएका अन्य व्यक्तिहरूलाई पनि बचाउन सकिने आशा जगाएको छ।
विदुरमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सूचना तथा सञ्चारमन्त्री एवं नुवाकोट-१ का प्रतिनिधिसभा सदस्य डा. विक्रम तिमिल्सिनाले अझै केही दिन सूक्ष्म रूपमा खोज तथा उद्धार जारी राख्न निर्देशन दिएका थिएए। सोही निर्देशन बमोजिम खोजतलासलाई तीव्र पारिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो।
रेग्मीका अनुसार सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको तालिमप्राप्त कुकुरसहित जिल्लाका विभिन्न ३० स्थानमा केन्द्रित भएर खोजी भइरहेको छ। यसै क्रममा आइतबार विदुर-१ त्रिशूली बजारमा दुई र वडा नं ३ सिर्खालीमा एक गरी थप तीनवटा शव फेला परेका छन्।
सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई उपलब्ध स्रोतसाधन प्रयोग गरी क्षति पुगेका तथा पुरिएका घरका प्रत्येक कुना-काप्चासम्म पुगेर खोजी गर्न खटाइएको छ भने आवश्यक परे नेपाली सेनाको पनि सहयोग लिइनेछ। उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीलाई सहजीकरण गर्न प्रजिअ रेग्मीले स्थानीय बासिन्दालाई आग्रह गरेका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार नुवाकोटमा मात्रै भोटेकोशी बाढीमा परेर बेपत्ता हुनेको सङ्ख्या २ हजार ६७३ पुगेको छ। स्थानीय तहहरूबाट अझै तथ्यांक संकलन भइरहेकाले हराउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान छ।
यस बाढीबाट जिल्लाका विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका प्रत्यक्ष प्रभावित भएका छन्। वेत्रावती, भैँसे, तुप्चे, त्रिशूली, ढुङ्गे र देवीघाटलगायतका मुख्य बस्तीहरू बगरमा परिणत भई ठूलो जनधनको क्षति भएको छ।