नेपाल। चीन सीमा क्षेत्रको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोले रसुवा जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। विपद्पछि तीव्र पारिएको खोजी तथा उद्धार कार्यका क्रममा हालसम्म एक हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने तीन हजार ७१ जना अझै सम्पर्कविहीन रहेका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा एक हजार २२७ नेपाली र ८६ विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ। साथै, गोसाइँकुण्ड क्षेत्रमा रोकिएका १४५ तीर्थयात्री तथा स्थानीयलाई हेलिकप्टरमार्फत नुवाकोट र काठमाडौँतर्फ सुरक्षित स्थानान्तरण गरिएको छ। दुर्गम र सडक सञ्जाल विच्छेद भएका क्षेत्रमा हेलिकप्टर प्रयोग गरी राहत र उद्धार कार्य जारी राखिएको छ।
विपद्का कारण सम्पर्कविहीन हुनेहरूमा ठूलो संख्या सुरक्षाकर्मी, सरकारी कर्मचारी र सर्वसाधारणको रहेको छ। श्रीनाथ गण ब्राबल ब्यारेकका २७ नेपाली सेना, २८ नेपाल प्रहरी, १३ सशस्त्र प्रहरी, ७९ सरकारी कर्मचारी र २६ बैंक तथा वित्तीय संस्थाका कर्मचारी अझै सम्पर्क बाहिर छन्। यसबाहेक रसुवाका एक हजार ३७० स्थानीय, अन्य जिल्लाका एक हजार २६२ जना र २६६ विदेशी पर्यटक बेपत्ता रहेको प्रशासनले जनाएको छ।
हालसम्म फेला परेका शवमध्ये उत्तरगयाका जनक आचार्य, गङ्गादेवी श्रेष्ठ, पुदुली तामाङ, आशवीर तामाङ, आशिष बानियाँ र गोसाइँकुण्डकी छिरिङ ग्याल्मो तामाङको सनाखत भई आफन्तलाई बुझाइसकिएको छ। फेला परेका अन्य १६३ शवमध्ये पाँच जनाको सनाखत भइसकेको र बाँकीको डिएनए परीक्षण तथा सनाखत प्रक्रिया अघि बढाइएको छ।
बाढीपहिरोले जिल्लाको भौतिक संरचना र पूर्वाधारमा व्यापक विनाश पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार एक हजार ५०० निजी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने २८ सरकारी निकाय, ११ विद्यालय र १४ बैंकका भवनमा क्षति पुगेको छ। जिल्लाको मेरुदण्ड मानिने ४१ किलोमिटर सडकखण्ड ठप्प हुनुका साथै छवटा पक्की पुल, आठवटा ट्रस तथा बेलीब्रिज, एक आर्च पुल र १० वटा झोलुङ्गे पुल बाढीले बगाएको वा क्षति पुर्याएको छ। साथै, जिल्लाका आठवटा जलविद्युत् आयोजनामा समेत अत्यधिक क्षति पुगेको छ।
विस्थापित भएका सात हजार ३३ नागरिकलाई धुन्चेस्थित सिटी सेन्टर, कोमिन श्यामे वाङ्फेल माविलगायत १२ वटा सुरक्षित आश्रयस्थलमा राखी गाँसबासको व्यवस्था मिलाइएको छ। प्रभावित क्षेत्रमा हालसम्म १३६ पटक राहत सामग्री वितरण गरिसकिएको छ।
कठिन परिस्थितिका बाबजुद जिल्लाको ८३ प्रतिशत क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालन गरिएको छ भने नेपाल टेलिकमको सञ्चार सेवा पूर्ण रूपमा सञ्चालनमा आइसकेकाले उद्धार र समन्वय कार्यमा ठूलो सहजता मिलेको छ।