भाेटेकाेशी बाढी : ११ सय बढी शव फेला, ५ हजारभन्दा बढी बेपत्ता, २१ हजार सुरक्षाकर्मी उद्धारमा

भाेटेकाेशी बाढी : ११ सय बढी शव फेला, ५ हजारभन्दा बढी बेपत्ता, २१ हजार सुरक्षाकर्मी उद्धारमा

काठमाडौं।  हालैको विनाशकारी बाढी तथा पहिरोका कारण देशका विभिन्न भागमा ठूलो जनधनको क्षति भएको छ। विपद् व्यवस्थापन प्राधिकरणका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रहरूबाट हालसम्म १ हजार १३१ वटा शव फेला परेका छन्। फेला परेका शव तथा मानव अङ्गहरूमध्ये अहिलेसम्म १८ जनाको मात्र सनाखत भई परिवारलाई बुझाइएको छ।

बाढीले बगाएर ल्याएका शवहरू विभिन्न आठ जिल्लामा फेला परेका छन्। जसअनुसार सबैभन्दा बढी नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २१९, नुवाकोटमा १९५, चितवनमा १६०, रसुवामा १५६, गोरखामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ वटा शव भेटिएका छन्।

यसैबिच, उद्धार टोलीले त्रिशूली–१ जलविद्युत् आयोजनाको ४ नम्बर अडिट टनेलबाट एक जना चिनियाँ नागरिक तथा नुवाकोटको बेत्रावतीबाट ६४ वर्षीया महिलाको जीवितै सकुशल उद्धार गरेको छ।

पाँच हजारभन्दा बढी अझै सम्पर्कविहीन जिल्ला प्रशासन कार्यालयहरूबाट प्राप्त विवरणअनुसार नुवाकोटबाट करिब २ हजार ३४० जना, रसुवाबाट १ हजार ९६७ जना, ५८९ जना विदेशी नागरिक तथा करिब १०० जना सुरक्षाकर्मी र कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। यद्यपि, यो सूचीमा पहिचान हुन नसकेका शवहरू र उद्धार भइसकेका कतिपय व्यक्तिहरूको नाम समेत दोहोरिएको हुनसक्ने भएकाले विवरण रुजु गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ।

१३ हजारभन्दा बढीको सकुशल उद्धार, ५ हजारभन्दा बढी घाइते प्रभावित क्षेत्रहरूबाट हालसम्म १३ हजार १०१ जनाको सकुशल उद्धार गरिएको छ। जसमा सशस्त्र प्रहरी बलबाट ४ हजार ८७१, नेपाली सेनाबाट ४ हजार १६२ र नेपाल प्रहरीबाट ४ हजार ६८ जना रहेका छन्। उद्धार गरिएकाहरूमा ३०४ जना विदेशी नागरिकसमेत छन्। उद्धारका लागि नेपाली सेनाले १७३ उडान र निजी क्षेत्रका हेलिकप्टरले १२१ पटक हवाई उडान गरेका छन्।

बाढी–पहिरोमा परी घाइते भएका ५ हजार १२९ जनाको उपचार गरिएको छ। जसमध्ये नेपाली सेनाबाट ३ हजार २९७, सशस्त्र प्रहरीबाट १ हजार ५१६ र विभिन्न अस्पतालहरूमा ३१६ जनाको उपचार भएको हो। हाल रसुवा, नुवाकोट, धादिङ र काठमाडौँका ४१ वटा होल्डिङ सेन्टरमा ३ हजार ९८२ जना आश्रित छन्।

२१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, राहत वितरण तीव्र खोज तथा उद्धारका लागि नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी कुल २१ हजार ४६५ सुरक्षाकर्मी फिल्डमा खटिएका छन्।

सरकारले तत्काल राहतस्वरूप रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख र अति प्रभावित १५ वटा पालिकालाई गरी कुल १३ करोड ५० लाख रुपैयाँ नगद निकासा गरेको छ।

काठमाडौँबाट ८३ वटा ट्रक, ३८ वटा बोलेरो र हेलिकप्टरका ९ वटा उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। यस्तै सशस्त्र प्रहरीले १७३ हवाई उडान गरी राहत सामग्री ढुवानी गरेको छ। प्रभावित क्षेत्रमा हाल ५७ हजार लिटर डिजेल, २० हजार लिटर पेट्रोल र १३ हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ।

छुटाउनुभयो कि ?