काठमाडौँ। नुवाकोट र रसुवा जिल्लास्थित भोटेकोशी नदीमा हिमताल विस्फोट भई पुनः ठूलो बाढी आउन सक्ने भनी फैलिएको हल्ला असत्य र भ्रामक भएको बाढी पूर्वसूचना केन्द्रले स्पष्ट पारेको छ।
सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा हिमताल विस्फोट र बाढीको सम्भावित जोखिमबारे चौतर्फी चासो र चिन्ता बढेपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वसूचना केन्द्रले शुक्रबार राति सूचना जारी गर्दै यसबारे स्पष्ट पारेको हो।
केन्द्रका अनुसार चिनियाँ समकक्षी निकायहरूसँग निरन्तर सम्पर्कमा रही भोटेकोशी जलाधार क्षेत्रको अवस्थाबारे नियमित अनुगमन भइरहेको छ। हालसम्म प्राप्त प्राविधिक तथ्याङ्क र सूचनाका आधारमा तत्कालै ठूलो बाढी आउने कुनै सम्भावना नदेखिएकाले भ्रामक हल्लाको पछि नलाग्न र त्रसित नभई संयमित रहन सर्वसाधारणलाई आग्रह गरिएको छ।
नदीमा जलसतह बढ्ने वा कुनै जोखिमको अवस्था देखिएमा केन्द्रले मोबाइलमा 'एसएमएस' (SMS) मार्फत तुरुन्तै पूर्वसूचना सम्प्रेषण गर्ने जनाएको छ। बाढीसम्बन्धी थप जानकारी वा सोधपुछका लागि २४ सै घण्टा उपलब्ध टोल-फ्री नम्बर ११५५ (२) मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।