काठमाडौं। रसुवादेखि नुवाकोटसम्मका १२ वटा जलविद्युत् आयोजनामा भीषण बाढी र पहिरोले क्षति पुर्याएपछि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि दबाब बढिरहेका बेला एउटा ठूलो सफलता मिलेको छ। बाढी आएको १० औँ दिनमा नेपाली सेनासहितको उद्धार टोलीले त्रिशूली थ्री 'ए' आयोजनाको सुरुङभित्रबाट दुई जना कर्मचारीलाई जीवितै उद्धार गर्न सफल भएको छ।
भदौ ११ देखि निरन्तर खटिएको नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार बिहान मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनलाई उद्धार गरेको हो। उनीहरूलाई तत्कालै उपचारका लागि काठमाडौँस्थित छाउनीमा रहेको सैनिक अस्पताल ल्याइएको छ।
राति २ बजे सबै अवरोध हटाएर सुरुङभित्र प्रवेश गरेका सुरक्षाकर्मीले आवाज दिँदा भित्रबाट जवाफ आएपछि उद्धार सम्भव भएको थियो। नेपाली सेनाका विपद् व्यवस्थापन गणका प्रमुख सेनानीको नेतृत्वमा ७५ जना र सशस्त्र प्रहरीका १८ जनाको विशेष टोली यस कार्यमा खटिएको थियो। लेदो, पानी र साढे १०० मिटरसम्म पुरिएको मुख्य प्रवेशद्वारका कारण ठूला उपकरण लैजान असम्भव प्रायः रहेको अवस्थामा १० दिनपछि दुई जनालाई जीवितै निकाल्नुलाई सेनाले 'चमत्कार' भनेको छ।
त्रिशूली थ्री 'ए' को सात तलामध्ये तलका पाँच तला पूर्ण रूपमा पुरिएका छन्। उद्धार टोली छैटौँ र सातौँ तलासम्म पुगेको भए पनि तलको भाग रूख र ढुङ्गाले भरिएकाले थप मानिस हुने सम्भावना नरहेको उद्धारकर्ताहरूको निष्कर्ष छ।
१० दिनसम्म कसरी भयो उद्धार प्रयास?
-
भदौ ११–१३: पहिलो दिन लेदो र खोलाले बाटो पुरेकाले उद्धार टोलीले रेकी मात्र गर्यो। १२ गतेदेखि लेदो पन्छाउन सुरु गरियो भने १३ गते रातभर काम गर्दा पनि वर्षाका कारण प्रवेशद्वार भेट्न सकिएन।
-
भदौ १४–१५: १४ गते 'क्राउन हेड' भेटिएपछि सानो एक्साभेटर र कम्प्रेसरबाट अक्सिजन पठाउने काम भयो। १५ गते बिहान १ बजे 'कन्ट्रोल ब्लास्ट' गरी १० मिटरसम्म प्वाल बनाएर लेदो र हिलो पन्छाइयो।
-
अन्तर्राष्ट्रिय टोलीको संलग्नता: १४ र १५ गतेदेखि भारत, चीन र कोरियाका विज्ञ टोलीहरू पनि नेपाली सेनासँगै विभिन्न आयोजनामा खटिए। चिलिमे हाइड्रोको सुरुङमा १०० मिटर भित्र पुग्दा दुई वटा शव फेला परेका थिए। माथिल्लो त्रिशूली–१ मा चिनियाँ र कोरियन टोलीसहित ३०० मिटर भित्र पुगे पनि मानवीय संकेत मिलेको छैन। लाङटाङ हाइड्रोमा पनि २ वटा शव फेला परेका छन्।
हाल त्रिशूली थ्री 'बी', चिलिमे, रसुवागढी र माथिल्लो त्रिशूली–१ मा भारतीय, चिनियाँ र नेपाली सुरक्षा निकायका संयुक्त टोलीहरू आधुनिक उपकरणका साथ खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्। सरकारले बाढीमा भएको कुल क्षति र सुरुङभित्र फसेकाहरूको यकिन तथ्याङ्क अझै सार्वजनिक गर्न सकेको छैन।