काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा आएको भीषण बाढीका कारण ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भई ३२ हजार ९३३ जना प्रत्यक्ष प्रभावित भएको जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले नियमित पत्रकार सम्मेलनमार्फत ¥यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए) टोलीको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिनुभएको हो।
प्रतिवेदनअनुसार बाढीका कारण ४८ वटा सरकारी भवन, १८ वटा विद्यालय, ७ वटा स्वास्थ्य संस्था र ५५ किलोमिटर सडकमा क्षति पुगेको छ। साथै ३७ वटा मोटरेबल पुल, ६८ वटा झोलुङ्गे पुल, १ हजार ८०६ हेक्टर कृषियोग्य जमिन तथा ७८३ मेगावाट विद्युत् उत्पादन क्षमताका १३ जलविद्युत् आयोजना र प्रसारण लाइन प्रभावित भएका छन्।
यसैबीच, त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि सुपरभाइजर कबीर महर्जन र फोरम्यान सञ्जय शाहलाई जीवितै उद्धार गरी उपचारका लागि काठमाडौंस्थित श्री वीरेन्द्र अस्पताल (छाउनी) ल्याइएको छ। सुरुङबाट एक जनाको शवसमेत निकालिएको छ। भौगोलिक जटिलताका कारण भारी उपकरण पुर्याउन कठिनाइ भए पनि पार्टपुर्जा छुट्टाछुट्टै लगेर जडान गर्दै सुरुङभित्र खोजी कार्य जारी राखिएको प्राधिकरणले जनाएको छ।
यसैगरी चीनमा अड्किएका थप १५५ जना नेपाली (१०९ पुरुष र ४६ महिला) को नामावली प्राप्त भएको र उनीहरूलाई स्वदेश फर्काउने व्यवस्थापनका लागि टोली परिचालन गरिएको छ। हाल रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा ४ हजार ६२७ जना बाढीपीडित आश्रय लिइरहेका छन्।