भोटेकोशी बाढी: बेपत्ताको अवस्था पत्ता नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि

भोटेकोशी बाढी: बेपत्ताको अवस्था पत्ता नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरू लामो समयसम्म फेला नपरेपछि परिवारजनले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्। १० दिनसम्म पनि आफन्तको कुनै अत्तोपत्तो नभएपछि हिन्दू परम्पराअनुसार पशुपति आर्यघाटमा कुशको प्रतीक बनाएर दाहसंस्कार गरिएको हो।

पशुपति घाट सेवा कार्यालयका अनुसार शुक्रबार मात्रै बाढीमा बेपत्ता भएका सात जनाको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ। सिन्धुपाल्चोक–७ का बद्रीकुमार दर्जीले आफ्ना बेपत्ता ३६ वर्षीय आफन्त राजकुमार दर्जीको कुनै खबर नआएपछि कुशको शव बनाएर धार्मिक संस्कार पूरा गरिएको बताउनुभयो।

पशुपतिस्थित शव दर्ता कार्यालयका कर्मचारी अनिश सङ्गतका अनुसार भोटेकोशी बाढीमा मृत्यु भएका कम्तीमा १६ जनाको शव आर्यघाटमा अन्त्येष्टि गरिसकिएको छ। बाढीपीडितका शव दाहसंस्कारका लागि पशुपति क्षेत्र विकास कोषले निःशुल्क व्यवस्था मिलाएको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटलगायत क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। बाढीमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहे पनि लामो समयसम्म फेला नपरेपछि पीडित परिवार धार्मिक विधिअनुसार अन्तिम संस्कार गर्न बाध्य भएका छन्।

छुटाउनुभयो कि ?